राष्ट्रिय दैनिक / नवलपरासी ,१६ फागुन
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार बिनोद चौधरी ले अहिलेको प्रमुख समस्या रोजगारी अभाव रहेको बताएका छन्। यसको दिगो समाधान औद्योगिकीकरण नै भएको उल्लेख गर्दै उनले उत्पादनमूलक क्षेत्र विस्तार गरेर युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाए।
चुनाव प्रचार–प्रसारका क्रममा शनिबार बर्दघाट नगरपालिका–१४, १५ र १६ नम्बर वडामा पुगेका चौधरीले आफ्नो मुख्य एजेन्डा भौतिक विकास, औद्योगिकीकरण र रोजगारी सृजनालाई बनाएको बताए। उनले औद्योगिक क्षेत्र विस्तार, साना तथा मझौला उद्योग प्रवर्द्धन र स्थानीय स्रोत–साधनको उपयोगमार्फत क्षेत्रलाई आर्थिक रूपमा सबल बनाउने योजना रहेको जानकारी दिए।
सामाजिक क्षेत्रमा महिला सशक्तीकरण अपरिहार्य रहेको औँल्याउँदै उनले महिलालाई स्वावलम्बी र उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताए। “यो क्षेत्र महिलाको बर्चस्व रहेको क्षेत्र हो, यहाँका हरेक महिलालाई आफ्नै खुट्टामा उभिने बनाउनु छ,” उनले भने, “उद्यमशीलता, सीप विकास र सहुलियतपूर्ण लगानीमार्फत महिलालाई आर्थिक रूपमा सशक्त बनाउनुपर्छ।”
विदेश पलायन भएका युवालाई स्वदेशमै अवसर सिर्जना गरेर फर्काउने लक्ष्य पनि पार्टीको मूल एजेन्डा भएको उनले बताए। सुरु हुन नसकेका स्टार्टअप व्यवसाय, आईटी क्षेत्र र नवीनतम प्रविधिसँग युवालाई जोड्दै निकट भविष्यमा उनीहरूको सपना मूर्त रूप दिने प्रतिबद्धता उनले व्यक्त गरे।

आफ्नो अनुभव र दक्षताका आधारमा क्षेत्र तथा मुलुकको समग्र विकासमा योगदान गर्ने विश्वास व्यक्त गर्दै चौधरीले वर्तमान नेतृत्व पंक्ति र आम जनताको साथ तथा विश्वास नै आफ्नो लागि सबैभन्दा ठूलो शक्ति भएको बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

