Rashtriya Dainik

पश्चिम नवलपरासीमा निर्वाचन लक्षित पत्रकार अन्तरक्रिया, आचारसंहिता पालनामा कडाइ

राष्ट्रिय दैनिक / नवलपरासी ,१६ फागुन

पश्चिम नवलपरासीमा निर्वाचन नजिकिँदै जाँदा मिडियाको भूमिकालाई थप जिम्मेवार र मर्यादित बनाउने उद्देश्यसहित पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रेस काउन्सिलको आयोजना तथा नेपाल पत्रकार महासङ्घ पश्चिम नवलपरासीको संयोजनमा भएको कार्यक्रममा निर्वाचन आचारसंहिता, निष्पक्ष रिपोर्टिङ, भ्रामक सूचना नियन्त्रण र सामाजिक सञ्जालको प्रभावबारे गहन छलफल गरिएको थियो।

प्रेस काउन्सिलका प्रतिनिधिहरूले निर्वाचन अवधिमा सञ्चारमाध्यमले उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याउँदै आचारसंहिता उल्लङ्घनका घटना नदोहो¥याउन आग्रह गरे। सामाजिक सञ्जालबाट फैलिने अपुष्ट तथा भ्रामक सूचनाले निर्वाचन वातावरणमा नकारात्मक असर पार्न सक्ने भएकाले तथ्यमा आधारित, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषणमा जोड दिइयो।

जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत राजेन्द्र कुमार आचार्यले प्रविधिको तीव्र विकाससँगै मिडियामा चुनौती र अवसर दुवै बढेको उल्लेख गर्दै पत्रकारिता जस्तो मर्यादित पेशालाई अनुगमन गर्नुपर्ने अवस्था आउन नदिन स्वयं पत्रकार सचेत हुनुपर्ने बताए। पेशागत अनुशासन नहुँदा कानुनी दायरामा पर्न सक्ने र त्यसको दीर्घकालीन प्रभाव पेशागत जीवनमा पर्न सक्ने चेतावनी पनि उनले दिए।

महासङ्घ नवलपरासीका अध्यक्ष केशव पराजुलीले आर्थिक मन्दी, स्पष्ट सरकारी नीति अभाव र स्थानीय तहको न्यून लगानीका कारण जिल्लाका सञ्चार गृहहरू अस्तित्वकै संकटमा परेको बताए। यस्तो परिस्थितिमा पनि निर्वाचनका बेला पत्रकारहरू अझ संयमित, निष्पक्ष र उत्तरदायी बन्नुपर्नेमा उनले जोड दिए।

Oplus_131072

कार्यक्रममा सहभागी पत्रकारहरूले निर्वाचन अवधिमा आउने दबाब, चुनौती र त्यसको समाधानका व्यावहारिक उपायबारे धारणा राख्दै स्वतन्त्रता र अनुशासनलाई सन्तुलित ढंगले अघि बढाउनुपर्ने निष्कर्ष निकाले।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित