Rashtriya Dainik

नवलपरासी–१ मा हृदयेश त्रिपाठीको घरदैलो अभियान तीव्र

राष्ट्रिय दैनिक /नवलपरासी, १३ फागुन

नवलपरासी निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले घरदैलो अभियानलाई तीव्र बनाएका छन्। मंगलबार उनले सरावल गाउँपालिका–४ र ५ अन्तर्गत बडहरा, दुबौलिया, मंगलापुर, ललितपुरलगायतका बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन्।

घरदैलोका क्रममा त्रिपाठीले स्थानीयसँग विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा छलफल गर्दै आफ्ना आगामी योजना प्रस्तुत गरे। उनले विगतमा आफूले सम्हालेका मन्त्रालयीय जिम्मेवारीका अनुभवलाई यस क्षेत्रको समग्र विकासमा प्रयोग गर्ने प्रतिबद्धता जनाए।

स्थानीय बासिन्दाले सडक स्तरोन्नति, सिँचाइ सुविधा, स्वास्थ्य सेवा विस्तार र युवालाई स्वरोजगारमुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने माग अघि सारेका थिए। मतदाताको सुझावलाई प्राथमिकताका साथ समेट्ने आश्वासन दिँदै त्रिपाठीले समृद्ध क्षेत्र निर्माणका लागि सहयोग गर्न आग्रह गरे।

पूर्वमन्त्री त्रिपाठीले छाता चुनाव चिन्हसहित घरदैलो अभियानलाई तीव्र बनाएका छन्। उनी जसपा तर्फबाट चुनावी मैदानमा छन्।

घरदैलो अभियानमा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। चुनाव नजिकिँदै जाँदा नवलपरासी–१ मा उम्मेदवारहरूबीचको प्रत्यक्ष भेटघाट र जनसम्पर्क कार्यक्रम तीव्र बन्दै गएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित