बिनोद निगम / नवलपरासी, १२ फागुन
पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी चुलिँदै जाँदा नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद खुला विद्रोहमा परिणत भएको छ। बर्दघाट नगरपालिका–९ का १५ जना नेता–कार्यकर्ताले मंगलबार संयुक्त हस्ताक्षरसहित राजीनामा बुझाउँदै पार्टी नेतृत्वप्रति तीव्र असन्तुष्टि सार्वजनिक गरेका हुन्।
‘संयुक्त राजीनामा सम्बन्धमा’ शीर्षकको पत्रमार्फत उनीहरूले लामो समयदेखि पार्टीमा सक्रिय भूमिका निर्वाह गर्दै आए पनि वर्तमान नेतृत्वले कार्यकर्ताको भावना बेवास्ता गरेको, एकपक्षीय निर्णय लिएको तथा नीति–विधिभन्दा व्यक्तिवाद हावी भएको आरोप लगाएका छन्। पत्रमा अनावश्यक दोषारोपण र अपमानजनक व्यवहारका कारण काम गर्ने वातावरण नै बिग्रिएको उल्लेख गरिएको छ।
राजीनामा दिनेहरूमा लुम्बिनी प्रदेश सदस्यदेखि नेपाल तरुण दलका जिल्ला सदस्य, क्षेत्रीय प्रतिनिधि, वडा सदस्य, नगर कार्यसमिति सदस्य तथा क्रियाशील सदस्यसम्म रहेका छन्। स्थानीय तहदेखि प्रदेशस्तरसम्मका जिम्मेवार पदाधिकारीको एकैचोटि बाहिरिनु संगठनका लागि ठूलो धक्का मानिएको छ।
यो घटनाक्रम प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनाेद चाैधरीको चुनावी अभियानकै बीचमा भएको हो। चौधरी नेतृत्व निकट समूहका कार्यकर्ता नै असन्तुष्ट भई बाहिरिनुले क्षेत्र नम्बर १ को राजनीतिक समीकरणमा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषण सुरु भएको छ।
यता जिल्ला नेतृत्वले भने यसलाई “सामान्य आन्तरिक असन्तुष्टि” भन्दै संगठन कमजोर नभएको दाबी गरेको छ। तर चुनावको मुखमा देखिएको सामूहिक राजीनामाले काँग्रेसभित्र गहिरिँदो दरारलाई सतहमा ल्याएको संकेत गरेको छ।
चुनाव नजिकिँदै जाँदा क्षेत्र नम्बर १ मा राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। आगामी दिनमा थप असन्तुष्टि सतहमा आउने हो कि भन्ने चासोसमेत बढेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

