Rashtriya Dainik

प्रतापपुरदेखि पकलिहवासम्म दल बदलको लहर

बिनोद निगम / नवलपरासी , ११ फागुन

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा राजनीतिक समीकरण फेरिएको छ। राष्ट्रिय जनमत पार्टी का गाउँपालिका अध्यक्ष धर्मेन्द्र हरिजनले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
दुई वर्षदेखि जनमत पार्टीमा सक्रिय रहँदै आएका हरिजनले आइतबार आयोजित कार्यक्रममा रास्वपा प्रवेश गरेको घोषणा गर्दै “नयाँ सोच, नयाँ कार्यशैली र पारदर्शी राजनीतिक अभ्यासको आवश्यकता महसुस गरेपछि निर्णय लिएको” बताएका छन्।
हरिजनको पार्टी परिवर्तनसँगै प्रतापपुरमा जनमत पार्टीको संगठनात्मक संरचनामा असर पर्ने आँकलन गरिएको छ। स्थानीय तहमा प्रभाव राख्ने नेताको बहिर्गमनले आगामी निर्वाचनको समीकरणमा प्रत्यक्ष प्रभाव पार्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।
उता, चुनाव नजिकिँदै जाँदा जिल्लाभर पार्टी प्रवेश गराउने होडबाजी नै चलेको देखिएको छ। आइतबार नै सुस्ता गाउँपालिका–५, पकलिहवा स्थित नेपाली कांग्रेस वडा कार्यसमितिका ३३ जना र बर्दघाटका ४ जना नेता–कार्यकर्ताले एकैसाथ पार्टी सदस्यता र सबै जिम्मेवारी परित्याग गरेका छन्। सामूहिक राजीनामाले जिल्लाको राजनीतिक वातावरण थप तरंगित बनेको छ।
राजनीतिक दलहरूबीच शक्ति प्रदर्शन र संगठन विस्तारको प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला पश्चिम नवलपरासीमा दल परिवर्तनको श्रृंखला अझै बढ्न सक्ने संकेत देखिएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै दलहरूले रणनीतिक हिसाबले प्रभावशाली व्यक्तित्वलाई भित्र्याउने प्रयासलाई तीव्रता दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित