राष्ट्रिय दैनिक /नवलपरासी ,८ फागुन
टाटी (खर र बाँसले बनाइएका कच्ची घर) मा बसोबास गरिरहेका पाल्हीनन्दन गाउँपालिकाका विपन्न परिवारका लागि सुरक्षित आवास उपलब्ध गराउने पहिलो योजना रहने नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर थापा (भरत) ले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नवलपरासी निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार थापाले पाल्हीनन्दनका विभिन्न वडामा सञ्चालन गरेको घरदैलो अभियानका क्रममा स्थानीयको दयनीय आवास अवस्था देखेर आफू भावुक भएको बताउनुभयो। घामपानीको ओतसमेत राम्रोसँग नपुग्ने कच्ची घरमा बस्न बाध्य अधिकांश विपन्न समुदायलाई सुरक्षित बासको व्यवस्था गर्न आफूले विशेष पहल गर्ने उहाँको भनाइ छ।
“हरेक नागरिकको आफ्नै सुरक्षित घर बनाउने सपना हुन्छ। तर यहाँ धेरै दाजुभाइ–दिदीबहिनीहरू घाम र पानी छल्नै मुस्किल पर्ने टाटी घरमा बस्न बाध्य हुनुहुन्छ। आर्थिक अभावका कारण उचित बसोबासको व्यवस्था गर्न नसकेका विपन्न समुदायका लागि आवास निर्माण मेरो पहिलो प्रतिबद्धता हो,” थापाले भन्नुभयो।
घरदैलोका क्रममा स्थानीयहरूले करिब २ देखि ३ हजार परिवार अझै बाँस र खरले छाएका कच्ची घरमा बसोबास गरिरहेको जानकारी गराएको उल्लेख गर्दै थापाले ती परिवारलाई सुरक्षित आवास उपलब्ध गराउन शहरी विकास मन्त्रालयसँग समन्वय गरी योजनाबद्ध रूपमा अघि बढ्ने बताउनुभयो।
सुनवल नगरपालिकाको मेयर हुँदा आफूले ‘खरमुक्त घर अभियान’ सुरु गरी झन्डै दुई सय घरको व्यवस्थापन गरेको अनुभव स्मरण गर्दै थापाले भन्नुभयो, “आवास निर्माणका लागि कस्ता प्रक्रिया र पहल आवश्यक पर्छ भन्ने अनुभव मसँग छ। त्यही अनुभवका आधारमा पाल्हीनन्दनका विपन्न समुदायको जीवनस्तर सुधार्न पहल मात्र होइन, परिणाम निकालेर देखाउनेछु।”
थापाको यो प्रतिबद्धताले पाल्हीनन्दनमा सुरक्षित आवासको आशा बोकेर बसेका हजारौं परिवारमा नयाँ अपेक्षा जगाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

