Rashtriya Dainik

कार्यसम्पादनमा सरावल गाउँपालिका अब्बल, पाल्हीनन्दन सबैभन्दा कमजोर

राष्ट्रिय दैनिक / नवलपरासी ,२९ माघ

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा पश्चिम नवलपरासीका सात स्थानीय तहमध्ये सरावल गाउँपालिका सर्वोत्कृष्ट ठहरिएको छ। १७ सूचकका आधारमा गरिएको मूल्याङ्कनमा सरावलले ६२.७५ अंक प्राप्त गर्दै जिल्लामै पहिलो स्थान हासिल गरेको हो।

प्रतिवेदनअनुसार पाल्हीनन्दन गाउँपालिका सबैभन्दा कमजोर देखिएको छ। उसले जम्मा ४६.३३ अंक प्राप्त गरेको छ। त्यस्तै, सुस्ता गाउँपालिका (४७.३८) र बर्दघाट नगरपालिका (४७.१८) ले पनि ५० अंकको न्यूनतम सीमा पार गर्न सकेनन्।

नगरपालिकातर्फ सुनवल नगरपालिका (५६.४२) अग्रस्थानमा रहेको छ भने रामग्राम नगरपालिका (५३.६०) मध्यम श्रेणीमा परेको छ। प्रतापपुर गाउँपालिका ले ५१.२६ अंक प्राप्त गरेको आयोगले जनाएको छ।

बजेट अनुशासनदेखि शिक्षा–स्वास्थ्यसम्मको समग्र मूल्याङ्कन

आयोगले स्थानीय तहको मूल्याङ्कन वित्तीय पारदर्शिता, राजस्व परिचालन, बजेट खर्च, बेरुजु व्यवस्थापन लगायत प्रशासनिक सूचकका आधारमा गरेको हो।
यसमा असार १० भित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित भए/नभएको, प्रदेश सरकारलाई बुझाउनुपर्ने ४० प्रतिशत राजस्व समयमै दाखिला गरे/नगरेको जस्ता सूचक समावेश छन्।

यसबाहेक आगामी आर्थिक वर्षको बजेट प्रक्षेपण अर्थ मन्त्रालयमा बुझाएको अवस्था, कात्तिक मसान्तभित्र बजेट समीक्षा सार्वजनिक गरे/नगरेको, सूत्र सफ्टवेयर प्रयोगको अवस्था पनि मूल्याङ्कनका आधार बनेका छन्।
शिक्षा तथा स्वास्थ्य क्षेत्रका सूचकहरू—विद्यार्थी भर्ना दर, कक्षा ९ मा टिकाउ दर, एसईई नतिजा, गर्भ जाँच गराउने महिलाको अनुपात र खोप लगाएका बालबालिकाको प्रतिशत—समेत समेटिएको आयोगले जनाएको छ।

सुधारको दबाब

आयोगको प्रतिवेदनले स्थानीय तहहरूबीचको कार्यकुशलता र सुशासनको स्तर स्पष्ट पारेको छ। अग्रस्थानमा रहेका पालिकाले आफ्नो उपलब्धि कायम राख्ने चुनौती सामना गर्नुपर्नेछ भने न्यून अंक ल्याएका पालिकामाथि सुधारको दबाब बढेको छ।
स्थानीय तहको सेवा प्रवाह, वित्तीय अनुशासन र जनविश्वास सुदृढ बनाउन आगामी वर्ष यी सूचकमा सुधार अनिवार्य हुने देखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित