जनकपुरधाम,२८ माघ।
धनुषा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार राजिव झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बुधबार जनकपुरधाममा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा उनले औपचारिक रूपमा रास्वपा प्रवेश गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।
झा यसअघि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष थिए। राष्ट्रिय मुक्ति पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको साझा उम्मेदवारका रूपमा उनले धनुषा क्षेत्र नं. ३ मा उम्मेदवारी दर्ता गराएका थिए। तर पछिल्लो राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै उनले पार्टी परित्यागको घोषणा गर्दै रास्वपा रोजेको बताएका छन्।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै झाले वर्तमान समयको माग र युवाहरूको परिवर्तन चाहनालाई सम्मान गर्दै आफूले रास्वपा रोजेको स्पष्ट पारे। “देशका युवाहरू परिवर्तन चाहिरहेका छन्, उनीहरूको भावना र चाहनालाई सम्मान गर्न म रास्वपामा आएको हुँ,” उनले भने। साथै उनले आजकै दिनदेखि राष्ट्रिय मुक्ति पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गरे।
घरदैलो अभियानका क्रममा धनुषाका गाउँ–गाउँ पुग्दा जनताबाट रास्वपा र बालेन शाहको नाम व्यापक रूपमा सुन्न पाएको उल्लेख गर्दै उनले यसपटक जनताले परिवर्तन चाहेको दाबी गरे। मधेशी युवा प्रधानमन्त्री बन्ने अभियानमा आफूले सहयोग गर्ने पनि उनले बताए।
कार्यक्रममा रास्वपाका प्रवक्ता मनिष झाले राजिव झालाई पार्टीमा स्वागत गर्दै उनका सामाजिक योगदानको प्रशंसा गरे। उनले झालाई रास्वपामा सम्मानजनक स्थान दिने प्रतिबद्धता व्यक्त गरे।
राजिव झासँगै दर्जनौं नेता–कार्यकर्ता तथा युवाहरूले पनि रास्वपाको सदस्यता लिएका छन्। झाको प्रवेशसँगै धनुषा क्षेत्र नं. ३ को चुनावी प्रतिस्पर्धा थप रोमाञ्चक बनेको विश्लेषण गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

