Rashtriya Dainik

सरावलकाे विद्यालयकै जग्गा दोहन ! १० लाख घोटालामा अध्यक्षसहित दुई फस्दा…

काठमाडौँ, २८ माघ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (ब.सु.प.) सरावल गाउँपालिका–३ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयको नाममा रहेको जग्गाबाट अवैध रूपमा माटो उत्खनन गरी बेचबिखन गरिएको प्रकरणमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राधाकृष्ण चौधरी र रामग्राम नगरपालिका–४ बस्ने दिनेश यादवबीच मिलेमतोमा गाउँपालिकाले दिएको अनुमति भन्दा बढी परिमाणमा माटो उत्खनन तथा निकासी गरिएको पाइएको छ। यस क्रममा विद्यालयको स्वामित्वमा रहेको कि.नं. २९५ र १४२ को करिब १ विगहा १० कट्ठा १० धुर जग्गाबाट ५ फिटसम्म माटो निकाली आर्थिक अनियमितता गरिएको उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानबाट गाउँपालिकाको स्वीकृत परिमाणभन्दा अस्वाभाविक रूपमा बढी माटो उत्खनन गरिएको तथ्य स्थलगत नापजाँचबाट समेत पुष्टि भएको आयोगले जनाएको छ। उक्त कार्यबाट सार्वजनिक सम्पत्तिमा रु. १०,०८,७०३/७४ बराबरको हिनामिना, हानि नोक्सानी तथा दुरुपयोग भएको ठहर गरिएको छ।

आयोगले प्रतिवादी राधाकृष्ण चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा दफा ३ बमोजिम कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ। साथै हिनामिना भएको बिगो असुलउपर गर्नसमेत माग गरिएको छ।
यस्तै दिनेश यादवलाई मुख्य कसुरदारका मतियारको रूपमा दफा २२ बमोजिम मुख्य अभियुक्त सरह सजायको मागदाबी लिइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

उक्त प्रकरणले विद्यालयको सार्वजनिक सम्पत्तिको संरक्षण र स्थानीय तहको अनुगमन प्रणालीमाथि प्रश्न उठाएको छ। अब विशेष अदालतको निर्णयले यस विषयलाई कानुनी टुंगो लगाउनेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित