Rashtriya Dainik

पर्सा–२ मा जसपा नेपालका उम्मेदवार टेमानीको भूमिकामाथि प्रश्न, स्थानीय स्तरमा आलोचना चर्किँदै

कृष्ण यादव/बिरगंज ,२७ माघ-

पर्सा–२ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवार अशोक टेमानीको भूमिका र राजनीतिक उद्देश्यबारे विभिन्न किसिमका टिप्पणी तथा आलोचना हुन थालेका छन्।
स्थानीय राजनीतिक वृत्त र मतदाताहरूका अनुसार टेमानीको राजनीतिक यात्रा जनताको सेवाभन्दा व्यापारिक स्वार्थसँग बढी जोडिएको देखिएको आरोप उठ्दै आएको छ। मधेस आन्दोलनबाट उदाएको जसपा नेपालले पार्टीभित्रका नेता–कार्यकर्तालाई अवसर नदिई पैसाको प्रभावमा व्यापारी पृष्ठभूमिका टेमानीलाई उम्मेदवार बनाएको भन्दै स्थानीय स्तरमा असन्तुष्टि र नकारात्मक प्रतिक्रिया देखिन थालेको छ।
राजनीतिक जानकारहरूका अनुसार टेमानीले आर्थिक प्रभाव प्रयोग गरेर राजनीतिमा प्रवेश गर्न खोजेको चर्चा व्यापक छ। लामो समयदेखि उद्योग–व्यवसायमा सक्रिय रहेका उनीमाथि आफ्ना उद्योगमा नेपालीभन्दा भारतीय कामदारलाई प्राथमिकता दिएको आरोपसमेत लाग्दै आएको छ। यसले स्थानीय युवाहरूबीच असन्तोष बढाएको बताइन्छ।
रोजगारीको खोजीमा रहेका नेपाली युवालाई अवसर नदिएको भन्दै टेमानीको आलोचना भइरहेको छ। साथै, मधेस आन्दोलनको समयमा उनी आन्दोलनको विपक्षमा रहेको दाबी केही राजनीतिक समूह र स्थानीय बासिन्दाले उठाएका छन्। तर हाल उनी आफूलाई खाँटी मधेसवादी नेताको रूपमा प्रस्तुत गर्न खोजेको आरोप लाग्दै आएको छ।
यस्ता विरोधाभासले उनको राजनीतिक धारणा र प्रतिबद्धतामाथि प्रश्न उठाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
स्थानीय मतदाताहरूका अनुसार टेमानीको सक्रियता चुनाव केन्द्रित मात्रै सीमित देखिएको छ। जनताको दैनिक समस्या, बेरोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका विषयमा स्पष्ट र दीर्घकालीन योजना सार्वजनिक नगरेको भन्दै उनीमाथि आलोचना भइरहेको छ।
कतिपयले टेमानीले व्यापारिक सुरक्षा र प्रभाव विस्तारका लागि राजनीतिलाई माध्यम बनाउन खोजेको टिप्पणी गरेका छन्। यद्यपि, घरदैलो अभियानका क्रममा टेमानीले भने क्षेत्रको विकास, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा योगदान दिने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।
पर्सा–२ मा निर्वाचन नजिकिँदै जाँदा टेमानीको उम्मेदवारी र उनको राजनीतिक उद्देश्यबारे बहस अझ तीव्र हुने संकेत देखिएको छ। स्थानीय स्तरमा भने मतदाताले उम्मेदवारको विगत, काम र प्रतिबद्धताको आधारमा विवेकपूर्ण निर्णय लिनुपर्ने आवाज बलियो हुँदै गएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित