Rashtriya Dainik

मुलुकलाई विकासको बाटोमा अघि बढाउन नेपाली कांग्रेसको नेतृत्व आवश्यक : उम्मेदवार रिजाल

राजन कुमार बानिया/पर्सा, माघ २७

आगामी निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यही सन्दर्भमा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले मुलुकलाई विकास र स्थायित्वको बाटोमा अघि बढाउन नेपाली कांग्रेसको नेतृत्व अपरिहार्य रहेको बताएका छन्।
पर्सा–४ का मतदातामाझ बोल्दै उम्मेदवार रिजालले आफूले गर्दै आएको राजनीति पद, प्रतिष्ठा वा व्यक्तिगत लाभका लागि नभई जनताको दुःख–सुखसँग जोडिएको स्पष्ट पारे।
“मेरो राजनीति जनताको पीडामा साथ दिने, समस्या समाधान गर्ने र क्षेत्रको भविष्य सुरक्षित गर्ने अभियान हो,” उनले बताए।
पूर्व मन्त्रीसमेत रहेका रिजाल चुनावी समयमा मात्रै देखिने नेता नभएको स्थानीय बासिन्दाहरूको भनाइ छ। उनी नियमित रूपमा गाउँ–टोलमा पुगेर जनताका समस्या सुन्ने, सम्भावित समाधान खोज्ने र सम्बन्धित निकायसम्म आवाज पुर्‍याउने नेता भएको स्थानीयहरूको धारणा छ।
स्थानीयका अनुसार रिजालले सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता आधारभूत विषयमा निरन्तर चासो राख्दै आएका छन्। उनले पर्सा–४ मा विकासको बहसलाई नारामा सीमित नराखी व्यवहारमा उतार्ने प्रयास गरेको दाबी पनि गरेका छन्।
उनका प्राथमिक एजेन्डामा शिक्षा क्षेत्रमा विद्यालयको अवस्था सुधार, स्वास्थ्य सेवामा पहुँच विस्तार, कृषि क्षेत्रमा सिँचाइ तथा बजार व्यवस्थापन, र युवाका लागि रोजगारी सिर्जना रहेका छन्।
“समस्या गन्ने धेरै छन्, तर समाधानका लागि नेपाली कांग्रेस नै सक्षम पार्टी हो, मैले त्यसको अभ्यास गरेको छु,” रिजालले भने।
यही कारण पर्सा–४ का धेरै मतदाताले उनलाई भरोसायोग्य नेता का रूपमा लिएको बताउँछन्। रिजाल इमानदारी, पारदर्शिता र जवाफदेहितालाई आफ्नो राजनीतिक आधार मान्ने बताउँदै आएका छन्।
“जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो पूँजी हो,” उनको भनाइ छ।
स्थानीय अगुवा र बुद्धिजीवीहरूले पनि पर्सा–४ लाई अब प्रयोगको थलो बनाउन नहुने बताउँदै अनुभवी, जनतासँग जोडिएको र काम गरेर देखाएको नेतृत्व आवश्यक रहेको धारणा राख्दै आएका छन्। यही सन्दर्भमा रमेश रिजालको नाम अगाडि आएको उनीहरू बताउँछन्।
जनताको दुःख–सुखमै राजनीति गर्ने दाबी गरेका रिजालले जनविश्वासलाई मतमा रूपान्तरण गर्न सक्छन् कि सक्दैनन् भन्ने निर्णय मतदानको दिन हुनेछ। तर हाल पर्सा–४ मा उहाँप्रति देखिएको बढ्दो समर्थनले चुनावी प्रतिस्पर्धा थप रोचक बनेको देखिन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित