Rashtriya Dainik

पर्सा–१ मा ‘सिजनल नेता’ को बहस, अनिल रुगँटामाथि बढ्दै जनआक्रोश

कृष्ण यादव /वीरगञ्ज, माघ २७

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा उम्मेदवारको भूमिका र जनसम्पर्कलाई लिएर तीव्र बहस सुरु भएको छ। यही बहसको केन्द्रमा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुगँटा रहेका छन्।

स्थानीय मतदाताका अनुसार रुगँटा चुनावको समयबाहेक जनताको माझमा कमै देखिने नेता को रूपमा चिनिँदै आएका छन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पर्सा–१ बाट उम्मेदवार बनेका रुगँटा जसपा नेपालका उम्मेदवार प्रदीप यादवसँग ४ हजार ६ सय ५१ मतले पराजित भएका थिए। उक्त निर्वाचनमा यादवले २१,१३२ मत प्राप्त गरी विजयी हुँदा रुगँटाले १६,४८१ मत पाएका थिए।
झण्डै ८ वर्षपछि पुनः कांग्रेसबाट टिकट लिएर चुनावी मैदानमा उत्रिएका रुगँटालाई लिएर स्थानीयस्तरमा मिश्रित प्रतिक्रिया देखिन थालेको छ। मतदाताहरूको आरोप छ—रुगँटा जनताको दैनिक समस्या, सुख–दुःख र आवश्यकता भन्दा टाढै रहँदै आएका छन् र चुनाव नजिकिँदा मात्र सक्रिय देखिन्छन्।
स्थानीय बासिन्दा भन्छन्, “हामीलाई वर्षौंसम्म नदेखिने नेता चुनाव नजिकिँदा मात्रै जनताको कुरा गर्छन्, यस्तो राजनीति अब स्वीकार्य छैन।”
राजनीतिक जानकारहरूका अनुसार रुगँटाको गतिविधि जनआधारित भन्दा शक्ति सन्तुलन र चुनावी गणितमा केन्द्रित देखिन्छ। शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत विकास जस्ता मुद्दा जनताको प्राथमिकतामा रहे पनि ती विषयमा उनको दीर्घकालीन सक्रियता कमजोर देखिएको आरोप लाग्दै आएको छ।
यसै कारण रुगँटामाथि ‘सिजनल नेता’ को छवि बलियो बन्दै गएको स्थानीय विश्लेषकहरू बताउँछन्। उनी नेता भन्दा बढी सफल उद्योगी–व्यापारीको रूपमा चिनिने गरेको टिप्पणीसमेत सुनिन थालेको छ।
पर्सा–१ का मतदाताहरू अब पहिलेभन्दा चेतनशील भइसकेको बताउँदै स्पष्ट सन्देश दिइरहेका छन्—
“जो क्षेत्रमै बसेर काम गर्दैन, जनताको आवाज सुन्दैन, उसलाई अब मतको सहारा दिइँदैन।”
यही पृष्ठभूमिमा, यद्यपि रुगँटाको प्रतिष्पर्धा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवसँग भए पनि हालको जनभावना हेर्दा यादवको पक्ष बलियो देखिएको स्थानीय राजनीतिक वृत्तको विश्लेषण छ।
अनिल रुगँटाको सीमित जनसम्पर्क र विगतको निष्क्रियताका कारण फागुन २१ गतेको निर्वाचनमा उनलाई विजयी यात्रा सहज नहुने संकेतहरू देखिन थालेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित