Rashtriya Dainik

रास्वपा सभापति रवि लामिछानेको कार्यक्रमलाई लिएर नवलपरासी प्रशासनको चेतावनी

राष्ट्रिय दैनिक / नवलपरासी ,२६ माघ

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचारसंहिता, २०८२ को कडाइका साथ पालना गराउन गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालयहरू सक्रिय भएका छन्।

यसै क्रममा जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मिति २०८२ साल माघ २७ गते तय भएको जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ कार्यक्रमलाई लिएर विशेष सतर्कता अपनाएको छ।

प्रशासनका अनुसार उक्त कार्यक्रम निर्वाचन आचारसंहिता आकर्षित हुने प्रकृतिको भएकाले कुनै पनि किसिमका आचारसंहिता विपरीत गतिविधि नगर्न र नगराउन सम्बन्धित सबै पक्षलाई औपचारिक रूपमा जानकारी गराइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषण राज भण्डारीद्वारा जारी सूचनामा निर्वाचनको मर्यादा र कानुनी सीमाभित्र रहेर मात्रै राजनीतिक गतिविधि सञ्चालन गर्न स्पष्ट निर्देशन दिइएको छ।

आचारसंहिता उल्लङ्घन भएमा कानुनअनुसार कारबाही हुने चेतावनीसमेत प्रशासनले दिएको छ।
निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको गतिविधि बढ्दै गएको सन्दर्भमा प्रशासनको यस्तो कदमलाई निर्वाचनलाई प्रभावमुक्त र निष्पक्ष बनाउने प्रयासका रूपमा हेरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित