राष्ट्रिय दैनिक / नवलपरासी ,२५ माघ
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले पूर्वमन्त्री देवेन्द्रराज कण्डेललाई विशेष जिम्मेवारी दिएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय, ललितपुरले पत्र जारी गर्दै कण्डेललाई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा निर्वाचन परिचालन संयोजकको रूपमा खटाएको हो।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको तर्फबाट सञ्चालन हुने सम्पूर्ण निर्वाचन अभियानको समन्वय, संयोजन तथा व्यवस्थापनको जिम्मेवारी कण्डेललाई सुम्पिएको पत्रमा उल्लेख छ।
पत्रअनुसार नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ र २ मा कांग्रेसका उम्मेदवारहरू क्रमशः विनोदकुमार चौधरी र भरतबहादुर थापालाई विजयी गराउने उद्देश्यसहित पार्टीका विभिन्न तहका कार्यसमितिहरूले सञ्चालन गरिरहेका गतिविधिलाई थप प्रभावकारी बनाउने जिम्मेवारी कण्डेललाई दिइएको हो।
यसअघि कांग्रेसबाट दुई जनाले आधिकारिक पत्रसहित मनोनयन दर्ता गरेपछि कण्डेलको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको थियो। त्यसपछि केन्द्रीय नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका कण्डेल केही समय सार्वजनिक रूपमा मौन रहनुभएको थियो। तर, कांग्रेस केन्द्रीय समितिले माघ २४ गते पत्र पठाउँदै नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारलाई विजयी गराउन विशेष जिम्मेवारीसहित उहाँलाई निर्वाचन परिचालन संयोजकको रूपमा खटाएको हो।
पार्टीले निर्वाचन अभियानलाई थप प्रभावकारी बनाउँदै संगठन सुदृढीकरण र कार्यकर्ताबीच समन्वय कायम गर्न कण्डेल सफल हुने विश्वास व्यक्त गरेको छ। कार्य सफलताको शुभकामनासहित नेपाली कांग्रेसका केन्द्रीय अध्यक्ष गगन थापाले औपचारिक रूपमा जिम्मेवारी प्रदान गर्नुभएको पत्रमा उल्लेख छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

