बिनोद निगम / नवलपरासी, २५ माघ
पश्चिम नवलपरासीको प्रमुख व्यापारिक नाका महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा तोकिएको राजस्व लक्ष्य पूरा गर्न असफल भएको छ।
भन्सार कार्यालयका अनुसार सात महिनामा ९ करोड ३० लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। तर सो अवधिमा जम्मा ७ करोड ५५ लाख २४ हजार ७ सय ८ रुपैयाँ मात्र संकलन भएको छ, जसले लक्ष्य र संकलनबीचको स्पष्ट अन्तर देखाउँछ।
सार्वजनिक तथ्यांकअनुसार भदौ र मङ्सिर महिनामा राजस्व संकलन लक्ष्य नजिक पुगे पनि कार्तिक र पुस महिनामा उल्लेख्य गिरावट आएको छ। कार्तिक महिनामा १ करोड ६३ लाख ८२ हजार रुपैयाँ लक्ष्य तोकिएकोमा जम्मा ८७ लाख २५ हजार रुपैयाँ मात्र संकलन भएको थियो।
महिनागत विवरणअनुसार साउनमा ५९ लाख ७८ हजार, भदौमा १ करोड ५४ लाख, असोजमा ५९ लाख, कार्तिकमा ५ लाख, मङ्सिरमा १ करोड २१ लाख र पुसमा ६९ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
लक्ष्य बनाम संकलनको अवस्थाले साउन र मङ्सिरमा लक्ष्य नाघे पनि भदौ, असोज, कार्तिक र पुस महिनामा लक्ष्य पूरा हुन नसकेको देखिन्छ।
भन्सार कार्यालयका अधिकारीहरूका अनुसार आयातको मात्रा घट्नु, प्रक्रिया ढिलाइ हुनु र संरचनागत कमजोरी राजस्व संकलन कमजोर हुनुका प्रमुख कारण हुन्।
यसैबीच, महेशपुर भन्सार कार्यालयमा स्थायी क्वारेन्टाइनको व्यवस्था नहुँदा कृषि तथा पशुजन्य वस्तुको आयातमा समस्या देखिएको छ। क्वारेन्टाइन अभावका कारण सामान रोकिँदा समय र लागत दुवै बढ्ने गरेको व्यापारीहरूले गुनासो गरेका छन्।

भन्सार कार्यालयले क्वारेन्टाइन स्थापना र जग्गा व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयमा पटक–पटक प्रस्ताव पठाए पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन।
महेशपुर भन्सारको वर्तमान अवस्था सीमावर्ती नाकामा पूर्वाधार अभाव, यथार्थपरक लक्ष्य निर्धारणको चुनौती र त्यसले राजस्व संकलनमा पार्ने प्रभावको स्पष्ट उदाहरण बनेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

