Rashtriya Dainik

बदलियो काङ्ग्रेस, बदल्छौँ देश” नारासहित विनयी त्रिवेणीमा काङ्ग्रेसको सम्पर्क कार्यालय सञ्चालन

आरपि उपाध्याय / नवलपुर ,२४ माघ

विनयी त्रिवेणी गाउँपालिका वडा नं. ७ मा नेपाली काङ्ग्रेसको निर्वाचन प्रचारप्रसार समितिको सम्पर्क कार्यालय एक कार्यक्रमका बिच त्रिवेणीको रानीनगरमा उद्घाटन गरिएको छ।
वडा नं. ७ का वडा सभापति निरन्जन थापाको अध्यक्षता तथा पूर्वी नवलपरासी संसदीय निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका उम्मेदवार ओम बहादुर घर्ती मगरले सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो।


उक्त अवसरमा उम्मेदवार घर्ती मगरले “बदलियो काङ्ग्रेस, बदल्छौँ देश” भन्ने मूल नारालाई आत्मसात गर्दै पार्टीका नीति तथा एजेन्डालाई मतदाता माझ लैजान चुनावी अभियानमा आफूहरू सक्रिय भएको बताउनुभयो। उहाँले क्षेत्र नं. २ अन्तर्गत बाटोघाटो, पुल लगायतका विकास निर्माणका कार्यलाई अगाडि बढाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि जिकिर गर्नुभयो।
कार्यक्रममा निर्वाचन प्रचारप्रसार समितिका संयोजक सूर्य गुरुङले पार्टीको काँधमा आएको जिम्मेवारी पूरा गर्न सबै कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहाँले आपसी मतभेद त्यागेर उम्मेदवारको जित सुनिश्चित गर्न चुनावी अभियानमा सक्रिय रूपमा लाग्न कार्यकर्तालाई अपिल गर्नुभयो।


कार्यक्रममा महाधिवेशन प्रतिनिधि झपेन्द्रेश्वर भुसाल, प्याब्सन नेपालका केन्द्रीय सदस्य दीपक कुवर, प्रचारप्रसारका वडा संयोजक गोपाल बहादुर क्षेत्री, प्रकाश कुवर लगायतले स्थानीय समस्या र जनचासोका विषय उम्मेदवार घर्ती मगरसमक्ष राख्नुभएको थियो।
त्यसैगरी नेपाली काङ्ग्रेस विनयी त्रिवेणी वडा नं. ६ मा पनि निर्वाचन प्रचारप्रसार समितिको सम्पर्क कार्यालय स्थापना गरिएको छ। वडा सभापति वीर बहादुर ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उम्मेदवार घर्ती मगरले मतदाता तथा स्थानीय नेता–कार्यकर्ताले उठाएका समस्या समाधान गर्न आफू पूर्ण प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।


कार्यक्रममा वडा उपसभापति अचल कुमार जोशी लगायतले पार्टीका गतिविधिबारे धारणा राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन विशाल सिंह भण्डारीले गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित