Rashtriya Dainik

छिपहरमाई र धोबिनीमा एचपीभी खोप अभियानको तयारी पूरा, अभिमुखीकरण कार्यक्रम सम्पन्न

राजन कुमार बानिया /पर्सा, २४ माघ

पर्साको छिपहरमाई र धोबिनी गाउँपालिकामा यही माघ २५ र २६ गते महिलामा पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एच.पी.भी. खोप अभियान सञ्चालन हुने भएको छ। अभियानको पूर्वतयारीस्वरूप पालिका स्तरीय खोप समन्वय समिति, सञ्चारकर्मी तथा सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

स्वास्थ्य कार्यालय छिपहरमाई तथा धोबिनी गाउँपालिका स्वास्थ्य शाखाको संयुक्त आयोजनामा गाउँपालिकाको सभाहलमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा खोप अभियानका उद्देश्य, लक्षित समूह, कार्यविधि र जिम्मेवारीबारे विस्तृत जानकारी गराइएको थियो।
कार्यक्रममा स्वास्थ्य शाखा संयोजकहरूले जानकारी दिँदै धोबिनी गाउँपालिकामा माघ २५ गतेदेखि र छिपहरमाई गाउँपालिकामा माघ २६ गतेदेखि एच.पी.भी. खोप अभियान सञ्चालन हुने बताए। छिपहरमाई गाउँपालिकामा करिब ९ सय ५० जना र धोबिनी गाउँपालिकामा करिब ५ सय ५० जना लक्षित बालिका तथा किशोरीलाई खोप लगाउने लक्ष्य रहेको जनाइएको छ।

छिपहरमाई गाउँपालिका स्वास्थ्य संयोजक शनि कुमार साहका अनुसार कक्षा ६ मा अध्ययनरत बालिका तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई खोप लगाइनेछ। यस्तै, धोबिनी गाउँपालिका स्वास्थ्य संयोजक केबिन्द्र यादवले बितेको वर्ष खोप छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत बालिका र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पनि एच.पी.भी. खोप प्रदान गरिने जानकारी दिनुभयो।
अभियानलाई सफल बनाउन कुनै आग्रह–पूर्वाग्रह नराखी लक्षित उमेर समूहका सबै बालिका तथा किशोरीलाई खोप लगाउन स्वास्थ्यकर्मीहरूलाई आग्रह गरिएको छ। साथै, खोप अभियानमा खटिने स्वास्थ्यकर्मीलाई सहज वातावरण सिर्जना गर्न पालिकाका जनप्रतिनिधि, शिक्षक, राजनीतिक दल, सञ्चारकर्मी तथा संघ–संस्थालाई सहयोगका लागि अनुरोध गरिएको छ।
अभिमुखीकरण कार्यक्रममा धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहान, प्रमुख प्रशासकीय अधिकृत कृष्ण खतिवडा, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। त्यस्तै, छिपहरमाई गाउँपालिकातर्फ प्रमुख प्रशासकीय अधिकृत कादिरबाबु देवान, स्वास्थ्य संयोजक शनि कुमार साह, जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित