Rashtriya Dainik

रगत होइन, श्रद्धा बग्नेछ : बर्दघाटे कालिका मन्दिरमा पशुबलि निषेध

राष्ट्रिय दैनिक / नवलपरासी ,२४ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–७ भुजहवास्थित ऐतिहासिक बर्दघाटे कालिका मन्दिर अब नयाँ युगमा प्रवेश गरेको छ। शताब्दीयौंदेखि चल्दै आएको पशुबलि प्रथालाई रोक्दै मन्दिर परिसरलाई अहिंसा, शान्ति र धार्मिक सहअस्तित्वको प्रतीक बनाउने निर्णय गरिएको छ।

मन्दिर परिसरमै राम मन्दिर स्थापना भई शुक्रबार रामजानकीको मूर्ति प्राणप्रतिष्ठा सम्पन्न भएसँगै अब यहाँ पशुबलि दिइने छैन। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादवका अनुसार, बर्दघाटे कालिका मन्दिर क्षेत्रलाई सात्त्विक र शान्त धार्मिक स्थलका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसहित यो निर्णय गरिएको हो।

अब मन्दिर परिसरमा पूजा, आराधना, भजन–कीर्तन, दीप प्रज्वलन जस्ता आध्यात्मिक गतिविधिलाई प्राथमिकता दिइनेछ। “धर्मको मर्म करुणा र सहअस्तित्व हो,” अध्यक्ष यादवको भनाइ छ।

वडाको सहयोगमा राम मन्दिर निर्माण

सरावल–७ का वडा अध्यक्ष हेयात खाँ धुनियाको पहलमा वडाबाट विनियोजन गरिएको १० लाख रुपैयाँको लागतमा राम मन्दिर निर्माण गरिएको हो। वडाकै सहयोग तथा अन्य दाताहरूको सहयोगबाट मूर्ति स्थापना र प्राणप्रतिष्ठा सम्पन्न भएको व्यवस्थापन समितिले जनाएको छ।

नेपाल–भारतका श्रद्धालुको साझा आस्था

स्थानीय मात्र होइन, नेपाल र भारतबाट समेत श्रद्धालुहरू यस मन्दिरमा दर्शनका लागि आउने गर्छन्। बडादशैं, चैते नवमी र प्रत्येक सोमबार यहाँ विशेष भीड लाग्ने गर्दछ। विगतमा भाकल पूरा हुने विश्वासका साथ पशुबलि दिने चलन रहे पनि अब त्यो परम्परामा ऐतिहासिक विराम लागेको छ।

धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य

पशुबलिमा रोक लगाएसँगै धार्मिक सहिष्णुता प्रवर्द्धन हुने र पशुहिंसामुक्त पूजा संस्कृतिलाई प्रोत्साहन मिल्ने स्थानीयको विश्वास छ। व्यवस्थापन समितिका अनुसार, यस क्षेत्रको ऐतिहासिक महत्वलाई संरक्षण गर्दै बर्दघाटे कालिका मन्दिरलाई धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ।
बर्दघाटे कालिकामा आएको यो परिवर्तन केवल परम्पराको अन्त्य होइन,शान्ति, करुणा र सहअस्तित्वको नयाँ सुरुवात हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित