Rashtriya Dainik

हास्यले दर्शक हँसाउने अभिनेता राजपाल यादव कानुनी झमेलामा, तिहाड जेलमा आत्मसमर्पण

मुम्बई/दिल्ली । बलिउड फिल्ममा आफ्नो विशिष्ट हास्य शैलीबाट दर्शकहरूलाई हँसाउँदै आएका अभिनेता राजपाल यादव गम्भीर कानुनी समस्यामा फसेका छन्। वर्षौं पुरानो चेक बाउन्स मुद्दामा अदालतको कडा आदेशपछि उनले अन्ततः दिल्लीस्थित तिहाड जेलमा आत्मसमर्पण गरेका छन्।

दिल्ली उच्च अदालतको स्पष्ट निर्देशनपछि राजपाल यादवले बिहीबार तिहाड जेलमा आत्मसमर्पण गरेका हुन्। यो मुद्दा उनले निर्देशनमा डेब्यू गरेको फिल्म ‘आता पता लपता’ सँग जोडिएको हो।

सन् २०१० मा रिलिज भएको उक्त फिल्म निर्माणका लागि राजपाल यादवले मुरगली प्रोजेक्ट प्राइभेट लिमिटेड नामक कम्पनीबाट करिब ५ करोड रुपैयाँ ऋण लिएका थिए। तर फिल्म बक्स अफिसमा असफल भएपछि उनी आर्थिक संकटमा परे र ऋण तिर्न असमर्थ भए।

ऋण फिर्ता गर्न जारी गरिएका चेकहरू बाउन्स भएपछि कम्पनीले राजपाल यादवविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो। तल्लो अदालतले चेक बाउन्स मुद्दामा उनलाई दोषी ठहर गर्दै छ महिनाको जेल सजाय सुनाएको थियो।

मुद्दा उच्च अदालतमा पुगेपछि अदालतले सुरुमा सजाय निलम्बन गर्दै रकम फिर्ता गर्ने सर्त राखेको थियो। तर राजपाल यादवले अदालतमा पटक–पटक पैसा तिर्ने वाचा गरे पनि समयमै रकम नतिरेपछि अदालतले उनको व्यवहारलाई अत्यन्तै गैरजिम्मेवार र अदालतको विश्वास तोड्ने खालको भन्दै कडा टिप्पणी गरेको थियो।
अदालतले धेरै अवसर दिए पनि प्रत्येक पटक वाचा तोडिएको उल्लेख गर्दै फेब्रुअरी २, २०२६ मा न्यायाधीश स्वरण कान्त शर्मा ले थप राहत दिन नसकिने स्पष्ट आदेश दिए। उच्च अदालतले राजपाल यादवलाई फेब्रुअरी ४, २०२६ मा आत्मसमर्पण गर्न निर्देशन दिएको थियो।

तर अदालतको आदेशको अवज्ञा गर्दै उनले तोकिएको मितिमा आत्मसमर्पण गरेनन्। म्याद थपको निवेदन पनि अदालतले अस्वीकार गरेपछि, अन्ततः उच्च अदालतको कडाइपछि राजपाल यादवले बिहीबार तिहाड जेलमा आत्मसमर्पण गरेका हुन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित