Rashtriya Dainik

७४० बालिका तथा किशोरीलाई लक्षित गर्दै पोखरियामा एचपीभी खोप अभियान

राजन कुमार बानिया /पर्सा, माघ २२

पर्साको पोखरिया नगरपालिकामा यही माघ २६ गते महिला स्वास्थ्यसँग सम्बन्धित पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी (HPV) खोप अभियान सञ्चालन हुने भएको छ।

स्वास्थ्य कार्यालय पोखरियाको आयोजनामा पोखरिया नगरपालिकाको सभाहलमा पालिका स्तरीय खोप समन्वय समिति, सञ्चारकर्मी तथा सरोकारवालासँगको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा खोप अभियानको उद्देश्य, लक्षित समूह र कार्ययोजना बारे विस्तृत जानकारी गराइएको थियो।

कार्यक्रममा पोखरिया स्वास्थ्य शाखाका सहसंयोजक शिव कुमार पटेल ले जानकारी दिँदै नगरपालिकाका १० वटै वडामा सञ्चालन हुने अभियानअन्तर्गत करिब ७ सय ४० जना कक्षा ६ मा अध्ययनरत बालिका तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई एचपीभी खोप लगाइने बताए।

सहसंयोजक पटेलका अनुसार बितेका वर्षमा खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत बालिका तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पनि यस अभियानमा समेटेर खोप प्रदान गरिनेछ।
अभियान सफल बनाउन स्वास्थ्यकर्मीहरूले कुनै पनि आग्रह–पूर्वाग्रह नराखी लक्षित उमेर समूहका बालिका तथा किशोरीहरूलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरिएको छ। साथै, अभियानमा खटिने स्वास्थ्यकर्मीहरूका लागि सहज वातावरण निर्माण गर्न जनप्रतिनिधि, शिक्षक, राजनीतिक दल, सञ्चारकर्मी तथा संघ–संस्थालाई सहकार्य गर्न अनुरोध गरिएको छ।

कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै सहसंयोजक पटेलले विश्वमा हरेक वर्ष करिब ६ लाख ७० हजार महिला पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने र तीमध्ये २ लाख ११ हजार महिलाको मृत्यु हुने गरेको बताए। पोखरिया नगरपालिकाभित्र हरेक वर्ष निःशुल्क परीक्षणमा करिब ४ सय महिलाको जाँच हुने र पछिल्लो वर्ष ३ जनामा पोजेटिभ देखिएको जानकारी दिइयो।

हाल पोखरिया नगरपालिकामा ३४ जना बिरामीले उपचार सहयोग पाइरहेको, जसमा १५ जना क्यान्सर पीडित रहेको स्वास्थ्य शाखाले जनाएको छ। नेपालमा मात्र पनि पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चार महिलाको मृत्यु हुने तथ्यांक अभिमुखीकरण कार्यक्रममा सार्वजनिक गरिएको थियो।
एचपीभी खोप लगाएपछि भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम उल्लेख्य रूपमा घट्ने विश्वास व्यक्त गर्दै सहसंयोजक पटेलले अभिभावकहरूलाई आफ्ना छोरीहरूलाई अनिवार्य खोप लगाउन आग्रह गरे।

अभिमुखीकरण कार्यक्रम पोखरिया नगरप्रमुख प्रद्युमन प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न भएको हो। नगरप्रमुख चौहानले एचपीभी खोप अभियानलाई सफल बनाउन चारैतर्फबाट सहयोग गर्न सबै सरोकारवालालाई आग्रह गर्दै नगरभित्र रहेका सबै बालिका तथा किशोरीहरूलाई पहिचान गरी खोप दिलाउन सामूहिक प्रयास आवश्यक रहेको बताए।

कार्यक्रममा नगर उपप्रमुख रुबी ठाकुर, प्रमुख प्रशासकीय अधिकृत कौशलकिशोर झा, विभिन्न वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाका सभापति भगवान कुर्मी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित