Rashtriya Dainik

बैतडीमा जन्ती बोकेको बस दुर्घटना : ८ जनाको मृत्यु, ४५ घाइते

बैतडी,२२ माघ ।

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ। जिल्लाको पुर्चौडी नगरपालिका–७ को भौनीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गरेको बस दुर्घटनामा परेको हो।
पवनदूत यातायातको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ कै बडगाउँ घुम्तीमा सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपककुमार रायले जानकारी दिनुभयो।
दुर्घटनामा एक महिलासहित सात पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला तथा बैतडी पुर्चौडी–७ की ४० वर्षीया पुष्पा अवस्थी रहेका छन्।
प्रहरीका अनुसार दुर्घटनामा परेका ४५ जनाको उद्धार गरी उपचारका लागि कोटीला स्वास्थ्य चौकी पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। घटनास्थलमा प्रहरी, स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित