राष्ट्रिय दैनिक / नवलपरासी ,२२ माघ
नवलपरासी–१ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद बिनोद चौधरी चुनाव नजिकिँदै जाँदा फेरि एकपटक सर्बसाधारणको घरआँगनमा देखिन थालेका छन्। तर चुनाव जितेपछि भने उनीसँग भेटघाट गर्न सर्वसाधारणलाई मुस्किल पर्ने गरेको गुनासो लामो समयदेखि उठ्दै आएको छ।
स्थानीयका अनुसार चौधरी चुनाव जितेपछि जिल्लामा कहिलेकाहीँ मात्रै देखिने गरेका छन्। जिल्लामा आउँदा पनि सीमित व्यक्तिहरूसँग भेटघाट गरेर एक–दुई दिनमै फर्किने प्रवृत्ति रहेको बताइन्छ। बर्दघाट–७ मा रहेको उनको सचिवालयसमेत केही नजिकका व्यक्तिहरूकै पहुँचमा सीमित रहेको स्थानीय मतदाताहरूको आरोप छ।
सुस्ताका एक मतदाताले गुनासो पोख्दै भने, “भोट हालेदेखि एकचोटि पनि देख्न पाएको छैन। समस्या पर्यो भने भेट्न त झन् असम्भव जस्तै हुन्छ।”
स्थानीय नागरिकका अनुसार जनताका समस्या, गुनासा र आवश्यकता सुन्न सांसद चौधरीसँग समय नभएझैँ देखिएको छ। तर अहिले चुनाव नजिकिँदै जाँदा भने उनी घरदैलो कार्यक्रममा सक्रिय देखिन थालेपछि यसलाई ‘भोट माग्ने बेला मात्रै देखिने पुरानै प्रवृत्ति’ भन्दै आलोचना सुरु भएको छ।
बर्दघाटका एक सर्बसाधारणले आक्रोश व्यक्त गर्दै भने, “तीन वर्षसम्म देख्न पाइएन। सधैँ २–४ जनाको वरिपरि मात्रै घुम्ने। अहिले फेरि भोट चाहियो भनेर घरदैलोमा आउनु जनतामाथि ठट्टा जस्तै हो। भोट पनि तिनैले मात्रै हालेर जिताए भइहाल्यो नि।”
चुनाव नजिकिँदै जाँदा सुरु भएको यस प्रकारको घरदैलो अभियानलाई लिएर जिल्लामा चौधरीको भूमिकाबारे पुनः बहस सुरु भएको छ। सर्बसाधारण भने चुनावी भेटघाटभन्दा पनि नियमित सम्पर्क, जवाफदेहिता र जनताको पहुँचमा रहने प्रतिनिधि चाहिएको बताउँदै आएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

