Rashtriya Dainik

बर्दघाटमा आयोजित रक्तदान कार्यक्रममा ७० जनाले गरे रक्तदान

रामु भुसाल /नवलपरासी , माघ २१

अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनको आयोजनामा पश्चिम नवलपरासीको बर्दघाटमा सम्पन्न रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन्। बुधबार बर्दघाट नगरपालिका वडा नं. ४, बाढीपीडित क्षेत्रमा अवस्थित बर्दघाट उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा ३१ जना महिला र ३९ जना पुरुष गरी जम्मा ७० पिन्ट रगत संकलन भएको हो।

फाउन्डेसनको आयोजना, नेपाल रेडक्रस सोसाइटी बुटवल शाखा रुपन्देहीको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा बर्दघाटको समन्वयमा ८१६ औँ विश्वव्यापी रक्तदान अभियान अन्तर्गत कार्यक्रम सम्पन्न भएको थियो।

फाउन्डेसनका लुम्बिनी प्रदेश संयोजक बिगम तामाङको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले मानव हितका लागि गरिने यस्ता परोपकारी कार्य अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो। उहाँले आगामी दिनमा फाउन्डेसन र नगरपालिकाबीच संस्थागत सहकार्य गर्दै कार्यक्रमहरू अगाडि बढे नगरपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष बेदबिना तिवारीले वर्तमान समयमा देखिएको रक्त अभावको अवस्थामा फाउन्डेसनले पुर्‍याएको योगदानको प्रशंसा गर्दै यस्ता सामाजिक कार्य अन्य संघ–संस्थाले पनि गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
त्यसैगरी नेपाल रेडक्रस सोसाइटी बर्दघाट उपशाखाका सभापति नारायण प्रसाद अधिकारीले रक्तदानको आवश्यकता, प्रभाव र यसबाट प्राप्त हुने उपलब्धिबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे अध्यक्ष बिगम तामाङले जानकारी गराउनुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सदस्य श्रावण कुमार श्रेष्ठले गर्नुभएको थियो।
“आमाको प्रेम सारा संसारमा” भन्ने मूल नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा करिब १५० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो।


फाउन्डेसनले यसअघि काठमाडौँ, भक्तपुर, ललितपुर, नेपालगञ्ज लगायत देशका विभिन्न स्थानमा रक्तदान अभियान सञ्चालन गर्दै अमूल्य जीवन बचाउने कार्यमा योगदान पुर्‍याउँदै आएको छ। सन् २००४ मा कोरियाबाट सुरु भएको यो अभियान हाल २२ औँ वर्षमा प्रवेश गरेको छ।


फाउन्डेसनले रक्तदानसँगै सन् २०१५ को महाभूकम्पका पीडितका लागि राहत वितरण, लुम्बिनी क्षेत्रमा भारी वर्षाबाट क्षतिग्रस्त घर पुनर्निर्माणमा सहयोग तथा कोभिड–१९ महामारीका समयमा क्वारेन्टिन सामग्री वितरणलगायत विभिन्न मानव कल्याणकारी गतिविधि गर्दै आएको छ। साथै भावी पुस्ताको शैक्षिक सहयोगमा पनि संस्था केन्द्रित रहेको फाउन्डेसनका सदस्य आशिष सुनारले जानकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित