Rashtriya Dainik

रास्वपा उम्मेदवार शुशिल साह कानुद्वारा वीरगंज–३ मा घरदैलो

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा उम्मेदवार शुशिल साह कानुले चुनावी घरदैलो अभियान अन्तर्गत सोमबार बिहान वीरगंज महानगरपालिका वडा नं. ३ मा मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीय बासिन्दासँग संवाद गर्दै आफ्नो राजनीतिक धारणा राख्नुका साथै समर्थन र भोट माग्नुभएको थियो। उहाँले यसपटकको निर्वाचन परिवर्तन, पारदर्शिता र जवाफदेहिताको आधार बन्ने उल्लेख गर्दै घन्टी छापामा मतदान गर्न मतदातासँग आग्रह गर्नुभयो।
कानुले युवालाई केन्द्रमा राखेर रोजगारी सिर्जना, सीप विकास र अवसरको सुनिश्चितता आफ्नो प्रमुख चुनावी एजेन्डा रहेको बताउनुभयो। शिक्षा क्षेत्रको सुधार अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले गुणस्तरीय, व्यवहारिक तथा प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने धारणा राख्नुभयो। सार्वजनिक विद्यालयलाई सक्षम र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
स्वास्थ्य क्षेत्रबारे बोल्दै कानुले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने, सरकारी स्वास्थ्य संस्थालाई प्रभावकारी बनाउने र उपचार खर्च घटाउने नीति अघि सार्नुभयो।
उम्मेदवार कानुले पुराना राजनीतिक अभ्यास र कार्यशैलीका कारण जनतामा निराशा बढ्दै गएको उल्लेख गर्दै इमानदार, जवाफदेही र नयाँ सोचको राजनीतिबाट मात्र मुलुकको अवस्था परिवर्तन सम्भव हुने दाबी गर्नुभयो।
घरदैलो भेटघाटका क्रममा स्थानीय मतदाताले पनि आफ्ना समस्या, अपेक्षा र सुझाव राख्दै जनमुखी, जिम्मेवार र जवाफदेही प्रतिनिधिको आवश्यकता रहेको प्रतिक्रिया दिएका थिए।
घरदैलो अभियानलाई निरन्तरता दिँदै उम्मेदवार कानुले जनताकै घरदैलोबाट सुरु हुने राजनीति नै समावेशी लोकतन्त्र र सुशासनको बलियो आधार हुने धारणा व्यक्त गर्नुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित