Rashtriya Dainik

कांग्रेसमा गुटको राजनीति समाप्त, अब विकास र रोजगारी प्राथमिकता : विनोद चौधरी

राष्ट्रिय दैनिक /नवलपरासी,२१ माघ ।

नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं.१ का प्रतिनिधि सभा उम्मेदवार विनोद चौधरीले कांग्रेस पार्टीभित्र गुटको राजनीतिको अन्त्य भइसकेको दाबी गर्नुभएको छ।

बर्दघाट नगरपालिका वडा नं. ७ मा आयोजित कांग्रेस कार्यकर्ता छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै चौधरीले विगतमा पार्टीभित्र देखिएको गुटगत प्रवृत्तिका कारण तेस्रो पक्षले फाइदा उठाउने अवस्था रहेको उल्लेख गर्दै अहिले कांग्रेस एकताबद्ध भएर अघि बढिरहेको बताउनुभयो।

उहाँले नेपाली कांग्रेस अहिले स्पष्ट विकास एजेण्डासहित जनताको बीचमा गएको बताउँदै स्थायी सरकार, आर्थिक रूपान्तरण र रोजगारी सिर्जना वर्तमान कांग्रेसको मुख्य प्राथमिकता रहेको स्पष्ट पार्नुभयो। आफू यस क्षेत्रमा नयाँ अनुहार नभएको उल्लेख गर्दै स्थानीय समस्या, आवश्यकता र सम्भावनासँग पूर्ण रूपमा परिचित रहेको उहाँको भनाइ थियो।

चौधरीले आफ्नो पाँच वर्षे कार्यकालमध्ये जम्मा ३० महिना मात्र काम गर्न पाएको स्वीकार गर्दै सो अवधिमै महत्वपूर्ण कामहरू सुरु गरिएको र बाँकी कामहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “अझै धेरै काम बाँकी छन्, ती कामहरू पूरा गर्न जनताको साथ चाहिएको छ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार यस क्षेत्रको सबैभन्दा जटिल समस्या नागरिकताको विषय थियो, जसको समाधान नेपाली कांग्रेस नेतृत्वको सरकारले पछिल्लो ३० महिनामै गरेको छ। साथै भूमि सम्बन्धी समस्याहरू समाधानको प्रक्रियामा रहेको र ती कामहरू तीव्र गतिमा अगाडि बढिरहेको उहाँले जानकारी दिनुभयो।

यी उपलब्धिहरूले नवलपरासी क्षेत्र नं. १ मा विकासको बलियो आधार तयार भएको उल्लेख गर्दै अब त्यसलाई अझ गति दिने समय आएको चौधरीले बताउनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित