आरपि उपाध्याय / नवलपरासी, माघ २० सुस्ता गाउँपालिका–३ फेनहरामा चौथो गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता तथा राष्ट्रपति रनिङ सिल्ड कार्यक्रम मङ्गलबारदेखि औपचारिक रूपमा सुरु भएको छ। शुभकामना आधारभूत विद्यालय, फेनहराको आयोजनामा प्रतियोगिता एक विशेष समारोहबीच उद्घाटन गरिएको हो। विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रीता देवी फौज्दारको अध्यक्षता तथा सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा बोल्दै अध्यक्ष उपाध्यायले खेलकुदमा हार–जितभन्दा पनि अभ्यास, अनुशासन र आत्मविकास महत्वपूर्ण हुने बताउनुभयो। उहाँले सबै प्रतियोगीलाई “हामी एउटै परिवारका सदस्य हौं” भन्ने भावनासहित सभ्य र भव्य रूपमा खेल सम्पन्न गर्न आग्रह गर्नुभयो। अध्यक्ष उपाध्यायले खेलकुद प्रतियोगिता पालिका वा राष्ट्रका लागि मात्र नभई खेलाडी स्वयंको शारीरिक, मानसिक र नैतिक विकासका लागि भएको उल्लेख गर्दै अनुशासित ढंगले प्रतिस्पर्धामा सहभागी हुनुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुदामा प्रसाद बि.क.ले उपस्थित अतिथिहरूलाई स्वागत गर्दै सुस्ता गाउँपालिकाको फेनहरामा पालिका स्तरीय खेलकुद प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको बताउनुभयो। उहाँले विद्यालय तथा व्यक्तिगत तर्फबाट आयोजक सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो। उद्घाटन समारोहमा सुस्ता गाउँपालिकाका पूर्व अध्यक्ष राम प्रसाद पाण्डे, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नर्सहीका प्रधानाध्यापक राजेश कुमार पाण्डे, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामगोपाल माली, समाजसेवी सैलेन्द्र प्रसाद शर्मा लगायतले खेलकुदको महत्व र यसको दीर्घकालीन प्रभावबारे आफ्ना धारणा राख्नुभएको थियो। कार्यक्रम सञ्चालकसमेत रहनु भएका शिक्षक तारा प्रसाद न्यौपानेका अनुसार पालिका अन्तर्गतका निजी, धार्मिक तथा सामुदायिक गरी ३४ विद्यालय सहभागी छन् भने प्रतियोगितामा ५१० जना छात्रछात्राले सहभागिता जनाएका छन्। पालिका स्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत दौड, ठेलो फ्याक्ने, रिले दौड, भलिबल, हाइजम्प, लङजम्पलगायत विभिन्न खेलहरू सञ्चालन गरिनेछ। माघ २० गतेदेखि सुरु भएको प्रतियोगिता माघ २३ गतेसम्म सञ्चालन हुने खेलकुद उपसमितिका संयोजक रामशरण पाण्डेले जानकारी दिनुभयो। कार्यक्रमका क्रममा विद्यालयका बालबालिकाहरूले गायन तथा नृत्य प्रस्तुत गर्दै समारोहलाई अझ आकर्षक बनाएको विद्यालयले जनाएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।