उमेश बि.क / नवलपरासी ,२० माघ नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नवलपरासी निर्वाचन क्षेत्र नम्बर–१ का जिल्ला इन्चार्ज तथा प्रतिनिधिसभा उम्मेदवार राजु हरिजनले चुनावी अभियानलाई तीव्र बनाएका छन्। मनोनयन पश्चात् उनले घरदैलो, जनसम्पर्क, भेटघाट तथा अन्तरक्रियालाई प्राथमिकतामा राख्दै स्थानीय जनसमुदायसँग प्रत्यक्ष संवाद अघि बढाइरहेका छन्। यसैक्रममा आज बर्दघाट नगरपालिका–१२ भटवलियामा आयोजित पत्रकार सम्मेलनमार्फत हरिजनले आफ्ना चुनावी एजेन्डा र प्रतिबद्धता सार्वजनिक गरेका छन्। पत्रकार सम्मेलनमा राजु हरिजनसँगै समानुपातिक महिला उम्मेदवार हरिकला थारु तथा मधेसी समुदायतर्फबाट समानुपातिक उम्मेदवार जित बहादुर कोहारको पनि उपस्थिति रहेको थियो। पत्रकार सम्मेलनमा बोल्दै हरिजनले देशमा वास्तविक परिवर्तनका लागि वर्तमान राजनीतिक व्यवस्थामा आधारभूत सुधार आवश्यक रहेको बताएका छन्। व्यवस्था परिवर्तनका लागि संविधान पुनर्लेखन गरी नागरिकका मौलिक हक–अधिकार सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए। उनले अधिकारसहितको राज्य पुनर्संरचना र समाजवादी संघीय व्यवस्था स्थापना अपरिहार्य भएको उल्लेख गर्दै जनताको चाहना र जनजीविकाका सवाललाई केन्द्रमा राखेर राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे। भ्रष्टाचार देशको मूल समस्या बनेको भन्दै उनले भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग गठन तथा भ्रष्टाचारका मुद्दा हेर्ने विशेष उच्चस्तरीय न्यायालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए। शिक्षा क्षेत्रबारे धारणा राख्दै हरिजनले शिक्षालाई गुणस्तरीय र पूर्ण रूपमा निशुल्क बनाइनुपर्ने बताए। यस्तै एमसिसी सम्झौता संविधान र कानुनको मातहत नआए तत्काल खारेज गर्नुपर्ने उनको स्पष्ट अडान रहेको छ। आर्थिक अन्यायका सवालमा उनले मिटरब्याज पीडित, बैंक तथा लघुवित्त पीडितहरूको समस्या समाधान लाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको बताए। उत्पीडित, गरिब, दलित, श्रमिक, महिला, मधेसी तथा पछाडि पारिएका समुदायको आवाज संसदसम्म पुर्याउने प्रतिबद्धता उनले दोहोर्याए। जनआन्दोलनदेखि सामाजिक सेवासम्मको लामो यात्रामा सक्रिय रहेका राजु हरिजन स्थानीय स्तरमा जनताको दुःख–सुखमा साथ दिने नेताका रूपमा चिनिँदै आएका छन्। शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दामा निरन्तर संघर्ष गर्दै आएका उनको उम्मेदवारीले नवलपरासी निर्वाचन क्षेत्र नम्बर–१ को राजनीतिक माहोल थप सक्रिय बनेको छ। मनोनयन दर्तापछि क्षेत्रमा चुनावी गतिविधि तीव्र बन्दै गएका छन् भने राजु हरिजन, हरिकला थारु र जित बहादुर कोहारसहितको टिमले अघि सारेका एजेन्डाप्रति जनचासो बढ्दै गएको देखिन्छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।