आरपि उपाध्याय /त्रिवेणी ,१८ माघ ईण्डो–नेपाल सीमा पत्रकार संघको विस्तारित बैठक भारतको बिहार राज्य अन्तर्गत पश्चिमी चम्पारण जिल्लाको बगाहा स्थित रामपुरमा सम्पन्न भएको छ। बैठकको अवसरमा संघले गरिब तथा विपन्न वर्गका करिब १०० जना अपाङ्ग व्यक्तिहरूलाई सम्मानसहित न्यानो कपडा वितरण गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस कार्यको स्थानीयस्तरमा उच्च प्रशंसा गरिएको छ। सन् २०१९ मा स्थापना भएको ईण्डो–नेपाल सीमा पत्रकार संघले नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधिको रोकथाम तथा नियन्त्रण, साथै वर्गीय हित, विकास निर्माण र सामाजिक विषयमा सूचना आदान–प्रदान गर्दै आएको भारतीय पत्रकार सञ्जय कुमार पाण्डेले जानकारी दिनुभयो। ईण्डो–नेपाल सीमा पार पत्रकारहरूको यो विस्तारित बैठक संघका अध्यक्ष कौशल कुमारको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भारत, बिहार पश्चिमी चम्पारण बगाहाका प्रहरी उपरीक्षक (एस.पी.) रामानन्द कौशलले अपाङ्ग वर्गलाई न्यानो कपडा वितरण गर्नु संघको सराहनीय पहल भएको बताउँदै, दुई देशका पत्रकारहरूले सामाजिक समस्या र विपन्न वर्गको आवाज उठाउनु आफैंमा सकारात्मक सन्देश भएको धारणा व्यक्त गर्नुभयो। त्यसैगरी, **नेपाल प्रेस युनियन पश्चिम नवलपरासीका अध्यक्ष उमेश बी.के.**ले पत्रकारिता समाजको आँखा भएकाले सामाजिक न्याय दिलाउनु पत्रकार जगतको प्रमुख दायित्व भएको उल्लेख गर्दै, सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सम्बन्धित प्रशासनको गम्भीर ध्यानाकर्षण गराउन पत्रकारहरूले भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो। बैठकमा भारततर्फका वरिष्ठ पत्रकारहरू माधवेन्द्र पाण्डे, शिवा तिवारी, जयप्रकाश बर्मा, हरिद्वार काजी तथा नेपालतर्फका पत्रकारहरू आर.पी. उपाध्याय, सञ्जय कुशवाहा लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। ईण्डो–नेपाल सीमा पत्रकार संघका अनुसार, संघको नियमित बैठक मासिक रूपमा नेपाल र भारतका सीमावर्ती क्षेत्रमा आलोपालो रूपमा आयोजना हुँदै आएको छ। वृहत् बैठकमा ग्राम पञ्चायतका प्रतिनिधि, स्थानीय संघ–संस्थाका पदाधिकारी, शिक्षकहरू तथा ठूलो सङ्ख्यामा अपाङ्ग व्यक्तिहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।