प्रकाश न्यौपाने / नवलपरासी ,माघ १८ गते बर्दघाट–४ हरियालीनगरमा सञ्चालनमा रहेको प्रथम बर्दघाट एक्सपो–२०८२ मा बिक्री वितरणका लागि राखिएका उपभोग्य बस्तुहरूको अनुगमन गरिएको छ। बर्दघाट नगरपालिकाका उपप्रमुख तथा अनुगमन समिति संयोजक रुद्रप्रकाश उपाध्यायको नेतृत्वमा रहेको अनुगमन टोलीले एक्सपोभित्र रहेका होटल तथा खाद्य सामग्री बिक्री गर्ने स्टलहरूको स्थलगत अनुगमन गरेको हो। राष्ट्रिय दैनिकले शनिबार “सरोकारवाला मौन हुदा बर्दघाटको एक्सपोमा अखाद्य बस्तु खुलेआम बिक्री” शिषर्कमा समाचार सम्प्रेषण गरेको थियो । अनुगमन समितिका सयोजकले उपाध्यायले राष्ट्रिय दैनिकले समाचार उठान गरेपछि अनुगमनको बिषयलाई गम्भीरता पुर्वक लिइएको उल्लेख गर्नु भयो । अनुगमनका क्रममा केही स्टलहरूमा उत्पादन मिति, उपभोग्य अवधि उल्लेख नगरेका खाद्य सामग्री, खुल्ला अवस्थामा राखिएका खाद्य वस्तु तथा अखाद्य रङ प्रयोग गरिएको पाइएकाले ती कमजोरीहरू तत्काल सुधार गर्न व्यवसायीलाई निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ। साथै खाद्य सामग्री सुरक्षित रूपमा राख्न, लेबलिङ अनिवार्य गर्न तथा नेपाल सरकार खाद्य तथा प्रविधि गुण नियन्त्रण कार्यालयबाट प्रमाणिकरण गराउन सुझाव दिइएको छ। अनुगमन समिति संयोजक उपाध्यायले अखाद्य रङको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले अबका दिनमा यस्ता रङ प्रयोग नगर्न व्यवसायीलाई कडाइका साथ सचेत गराइएको जानकारी दिनुभयो। उपभोक्ताको स्वास्थ्य र सुरक्षामा कुनै सम्झौता नहुने उहाँको भनाइ थियो। उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सचिव सरस्वती पंगेनीले उत्पादन मिति र उपभोग्य मिति उल्लेख नभएका तथा खुल्ला खाद्य पदार्थ बिक्री वितरण नगर्न व्यवसायीलाई स्पष्ट निर्देशन दिनुभयो। यस्ता खाद्य वस्तुले उपभोक्ताको स्वास्थ्य जोखिम बढाउने भएकाले मापदण्डअनुसार मात्रै बिक्री गर्नुपर्ने उहाँको जोड थियो। त्यस्तै नेपाल सरकार खाद्य तथा प्रविधि गुण नियन्त्रण कार्यालय भैरहवाकी खाद्य नियन्त्रक सोनिला गौतमले कुनै पनि खाद्य पदार्थ बिक्री गर्दा मूल्यसूची, उत्पादन मिति, उपभोग्य अवधि, अखाद्य रङको प्रयोग नगर्ने तथा सम्बन्धित निकायमा दर्ता जस्ता न्यूनतम मापदण्ड अनिवार्य रूपमा पूरा गर्नुपर्ने बताउँदै व्यवसायीलाई सजग रहन आग्रह गर्नुभयो। अनुगमन कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च बर्दघाटका अध्यक्ष हुमनाथ आचार्य, बर्दघाट नगरपालिका उद्योग वाणिज्य शाखा अधिकृत लिलबहादुर चौधरी, कृषि शाखा अधिकृत नवीन ढकाल, एक्सपो अनुगमन उपसमिति संयोजक हरि प्रसाद अधिकारी, उपभोक्ता हित संरक्षण मञ्च नगर उपाध्यक्ष धनमाया गिरी, सदस्यहरू रामु भुषाल र लक्ष्मी बर्तौला, बर्दघाट प्रेस क्लबका अध्यक्ष कुष्माकर ढकाल, पत्रकार प्रकाश न्यौपाने, पत्रकार सरोज धिताललगायतको सहभागिता रहेको थियो। अनुगमन टोलीले मापदण्ड उल्लङ्घन गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।