राजकुमार यादव / रौतहट ,१७ माघ रौतहट जिल्ला प्रहरी कार्यालयको आयोजना तथा मौलापुर नगरपालिकाको सहकार्यमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाइ कार्यक्रम शनिबार मौलापुर नगरपालिकाको सभा हलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको सञ्चालन मौलापुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत केसीले गरेका थिए। संयमित नेतृत्व, स्पष्ट वाक्पटुता र विषयवस्तुमा गहिरो पकड देखाएका निरीक्षक केसीले सम्पूर्ण कार्यक्रमलाई अनुशासित, जीवन्त र उद्देश्यपूर्ण ढंगले अगाडि बढाएका थिए। सहभागीहरूलाई सहज रूपमा जोड्दै नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उनको प्रस्तुति प्रशंसनीय रह्यो। कार्यक्रममा रौतहट जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापा मगर, मौलापुर नगरपालिकाका सम्पूर्ण वडाध्यक्षहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी उपरीक्षक रिजालले चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयबाट सम्पादन गरिएका प्रमुख कामकारबाहीहरू श्रव्य–दृश्य माध्यममार्फत प्रस्तुत गर्दै समुदायको सहकार्यबिना शान्त, सुरक्षित र मर्यादित समाज निर्माण सम्भव नहुने स्पष्ट पारे। उनले विशेषगरी लागुऔषध नियन्त्रणलाई उच्च प्राथमिकता दिइएको उल्लेख गर्दै यसविरुद्ध सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको बताए। यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पूर्ण पालना अनिवार्य रहेकोमा जोड दिए। साना लापरबाहीले ठूला दुर्घटना निम्त्याउने भन्दै उनले हेलमेट र सिट बेल्टको प्रयोग, गति नियन्त्रण तथा मापदण्डअनुसार सवारी साधन सञ्चालन गर्न आग्रह गरे। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले लागुऔषध कारोबार, समाजमा विद्यमान छुवाछुतको समस्या, तथा भारतबाट सादी विवाह प्रयोजनका लागि ल्याइने सामग्री प्रहरीले नियन्त्रणमा लिने विषय लगायतका प्रश्न र गुनासो राखेका थिए। प्रहरी नेतृत्वले उठाइएका गुनासोहरू लाई कानुनी दायराभित्र रही समाधान गरिने प्रतिबद्धता व्यक्त गरेको छ। नागरिक र प्रहरीबीच प्रत्यक्ष संवाद, विश्वास र सहकार्यको उदाहरण बनेको उक्त कार्यक्रमले मौलापुर क्षेत्रमा सुरक्षा, सामाजिक सद्भाव र सचेतनाको नयाँ सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ रहेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।