प्रकाश न्यौपाने / नवलपरासी ,माघ १७ गते बर्दघाट ४ हरियाली नगरमा सञ्चालनमा रहेको प्रथम बर्दघाट एक्सपो २०८२ मा अखाद्य बस्तुको खुलेआम बिक्री बितरण भइरहेको छ । हाल सञ्चालनमा रहेको एक्सपोमा अचार, नमकिन, दालमोड, चना भुटेको, मिक्स दालमोट प्राउन, आलु चिप्स, ढुम्रो, कुरकुरे, माछा लगायतका मिठाइमा सुनपापडी, भुजा पापडी जस्ता बस्तुहरु लेभल र प्याकेजिङ्ग बिहिन रहेका छ । एक्सपोमा रहेका स्टल नम्बर ई १,२, ७,८,१२,१३ ३६, ३७ मा ए २६ मा खुल्ला, लेभल र प्याकेजिङ्ग नभएका बस्तु बिक्रीमा रहेका छन । उपभोग्य बस्तु गुणस्तर, सुरक्षा, स्वास्थ्य, लेबलिङ् र वातावरणमैत्री हुनु पर्छ । उत्पादनले तय गरिएको गुणस्तर पूरा गर्नुपर्छ र प्रयोग गर्दा उपभोक्ताको स्वास्थ्य वा जीवनमा कुनै जोखिम नहुने सुनिश्चित गर्नु पर्छ। खानेकुरा, पेय पदार्थ वा अन्य व्यक्तिगत बस्तुहरूले स्वास्थ्यकर र सफा हुनु आवश्यक छ। साथै, उत्पादनमा स्पष्ट जानकारी जस्तै नाम, अवयव, निर्माण मिति, समाप्ति मिति, प्रयोग निर्देश र निर्माता विवरण लेखिनुपर्छ। वातावरणमैत्री प्याकेजिङ् र टिकाउपन पनि महत्वपूर्ण मापदण्ड हुन्। यी मापदण्डले उपभोक्तालाई सुरक्षित, विश्वासिलो र गुणस्तरीय उत्पादन उपलब्ध गराउन मद्दत गर्छन्। तर एक्सपोमा उपलब्ध भएका केहि स्टलहरुमा समेत यी मापदण्डहरु छैनन् । मापदण्ड पूरा नभएका खाद्य बस्तु खुलेआम प्रदर्शन र बिक्री वितरण भइरहेको पाइएको छ। यद्यपि नगरपालिकाले नै एक्सपोलाई संरक्षकको जिम्मेवारी सम्हालेको भएपनि, उपभोक्ताको सुरक्षा जोखिमप्रति सरोकारवालाहरू बेखबर देखिन्छन्।नगरमा नगर उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति रहेको छ । तर समिती कुनै अनुगमन नै भएको छैन । नगरमा उपभोक्ता हकहित सरक्षण मञ्च समेत सकृय छ । तर सकृय भएको मञ्चसमेत बेखबर जस्तै छ । मञ्चका जिम्मेवार पदाधिकारी र सदस्यहरूले पनि यस विषयमा अन्देखा गरेको तथ्य देखिएको छ। नगर र मञ्च मात्रै होइन एक्सपो आयोजक बर्दघाट व्यापार संघसमेतले अनदेखा अखाद्य बस्तुका स्टललाई अनदेखा गरेको छ । अझै चर्को कुरा के छ भने, एक्सपो आयोजक बर्दघाट उद्योग व्यापार संघले केही व्यापारीले अखाद्य बस्तु अचारहरुमा कुनै पनि लेभलिङ्ग र उत्पादन मिति समेत नभएको र केवल प्लास्टिकको पोकामा अचार बिक्री भइरहेको कुरा उठाएका छ्न । तर पनि ति गुनासा सुनवाइ नगरी कानमा तेल हालेजस्तो उदासीनता देखाएको छ। यसले उपभोक्ताको स्वास्थ्य र सुरक्षा जोखिम अझ बढाएको छ । के भन्छन् सरोकारवालाहरु बर्दघाट नगर उपप्रमुख एवम अनुगमन समिती सयोजक रुद्रप्रकाश उपाध्यायले स्टलहरुका सन्दर्भमा केहि गुनासो आएको बताउनु भयो । ” केहि व्यपारी बाट गुनासो आएको छ । हामीले केहि दिनमा नै अनुगमन गर्छौं ।” अखाद्य बस्तु प्रदशन तथा बिक्री बितरण र बजारिकरण गर्ने पाइदैन । कसैले अटेर र आनाकानी गरे कानुनी दायरामा आउनु पर्ने उपाध्यायको भनाइ छ । व्यपार संघका उपाध्यक्ष एवम एक्सपोका स्टल सयोजक राजेन्द्र तिमिल्सिनाले स्टलमा अखाद्य बस्तु देखिएकोमा स्टलवालालाई सम्झाइएको बताउनु भयो । ” लेभल नभएका खाद्या बस्तु स्टलबाट बाहिर निकाल्नुहोस, लेभल भएका मात्रै बेच्नुहोस भनेका छौं ।” तिमिल्सिनाले भन्नुभयो । उपभोक्ता हक हित सरक्षण मञ्च बर्दघाटका अध्यक्ष हुमनाथ आचार्यले बर्दघाट एक्सपोको स्टलमा अखाद्य बस्तु बिक्रि बितरण भएको कुरा जानकारीमा नआएको उल्लेख गर्नुभयो । गुनासो आएमा हामीले गम्भीरताका साथ लिन्छौं ।” आचार्यले भन्नु भयो । के छ त कानुनी व्यवस्था ? नेपालको उपभोक्ता संरक्षण ऐन, २०७४ अनुसार यदि उपभोग्य बस्तुमा गुणस्तर, सुरक्षा, स्वास्थ्य वा लेबलिङ् जस्ता मापदण्ड पूरा नभएमा कानुनी कारबाही हुन्छ। दफा ४२ अनुसार गलत वा भ्रामक लेबलिङ्ग वा प्रचार गरेको भए दोषीलाई जरिवाना वा कारावास हुन सक्छ। दफा ४३ अनुसार स्वास्थ्य वा सुरक्षा जोखिम हुने उत्पादन बिक्री गर्दा उत्पादन फिर्ता लिन, बिक्री रोक्न र दोषीलाई सजाय गर्न सकिन्छ। दफा ४७ अनुसार उपभोक्ताले क्षतिपूर्ति माग्ने, उजुरी दर्ता गर्ने र आवश्यक परे अदालतमा मुद्दा दायर गर्ने अधिकार राख्छ। यसले उपभोक्तालाई सुरक्षित, गुणस्तरीय र विश्वासिलो उत्पादन उपलब्ध गराउने सुनिश्चितता दिन्छ। विशेषज्ञ र सरोकारवालाहरूले तत्काल प्रभावकारी अनुगमन र सचेत कदम चाल्नुपर्ने चेतावनी दिएका छन्। उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकता दिँदै अखाद्य बस्तुको बिक्री वितरण रोक्न र जिम्मेवार निकायले कारबाही गर्ने आवश्यक रहेको बताइएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।