प्रकाश न्यौपाने / नवलपरासी ,माघ १६ गते
बर्दघाट ११ बिजयपुरमा राधाकृष्ण मन्दिर निर्माणका लागी महायज्ञ गरिएको छ । समाजमा धार्मिक चेतना, नैतिकता र आध्यात्मिक मूल्यको पुनर्जागरण गर्ने उद्देश्यसहित राधा–कृष्ण मन्दिर निर्माणार्थ धनधान्याञ्चल महायज्ञ माघ १४ गतेदेखि २२ गतेसम्म नौ दिनसम्म सञ्चालन हुने भएको छ। बर्दघाट क्षेत्रमा आयोजना हुन लागेको यस महायज्ञले समाजमा सद्भाव, सहकार्य र सकारात्मक ऊर्जाको सन्देश फैलाउने अपेक्षा गरिएको महायज्ञ मुल आयोजक समितीका अध्यक्ष रमेश फौजदारले बताउनु भयो।
महायज्ञको उद्घाटन समारोहमा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। नगर प्रमुख श्रेष्ठले आजको समाजमा धार्मिक तथा आध्यात्मिक ज्ञानले व्यक्तिलाई नैतिक, अनुशासित र संस्कारयुक्त बनाउने उल्लेख गर्नुभएको छ। उहाँले वर्तमान आर्थिक अवस्था चुनौतीपूर्ण रहेको भन्दै कसैसँग पनि बलजफ्ती वा दबाबका आधारमा रकम संकलन नगर्ने स्पष्ट पार्नुभएको छ।
कार्यक्रममा नन्दलाल थारु, साना किसान कृषि सहकारी संस्था लिमिटेड, पञ्चनगरका पूर्व अध्यक्षलगायत समाजसेवी, बुद्धिजीवी, धार्मिक अगुवा र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।
महायज्ञको पहिलो दिन राधा–कृष्ण झाँकीसहित भव्य कलश यात्रा निकालिनेछ। धार्मिक झाँकी, बाजागाजा र भक्तजनको सहभागितामा सम्पन्न हुने कलश यात्रापछि औपचारिक उद्घाटन कार्यक्रम आयोजना गरिनेछ। दोस्रो दिनदेखि धनधान्याञ्चल यज्ञ विधिवत रूपमा शुभारम्भ गरिनेछ भने तेस्रो दिन तुलादान कार्यक्रम सम्पन्न गरिने कार्यक्रम तय गरिएको महायज्ञ मुल आयोजक समितिका सचिब अजित पञ्जियारले बताउनु भयो । उहाका अनुसार महायज्ञ अवधिभर दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म मूल पाठ, ८ बजेदेखि ११ बजेसम्म पूजा, दिउँसो २ बजेदेखि ५ बजेसम्म कथा वाचन तथा राति ७ बजेदेखि १२ बजेसम्म रामलीला प्रदर्शन गरिनेछ। धार्मिक संगीत, कथा र नाट्यमार्फत भगवान् राम, राधा र कृष्णका आदर्श जीवन मूल्यलाई जनसमुदायसम्म पुर्याइने विश्वास आयोजकको छ।
महायज्ञका संकल्पकर्ता युवा वाचक तथा ज्योतिष ज्ञाता अमित शरण शास्त्री रहनु भएको छ। उहाँका ओजपूर्ण प्रवचनमार्फत सत्य, अहिंसा, करुणा, धर्म र कर्तव्यका विषयमा गहिरो सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ। समितिले सम्पूर्ण धर्मप्रेमी, श्रद्धालु तथा स्थानीयवासीलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन आग्रह गरेको छ।
मन्दिर निर्माणका लागि सुसिला फौजदारले १० धुर जग्गा दान गर्नुभएको छ। समाज र धर्मको हितका लागि प्रदान गरिएको सोही जग्गामा अहिले राधा–कृष्ण मन्दिर निर्माणको तयारी भइरहेको छ। जग्गादानजस्तो पवित्र कार्यले समाजमा त्याग, सेवा र सहयोगको भावनालाई थप बल पुर्याएको स्थानीयको भनाइ छ।

महायज्ञमार्फत समाजमा आपसी सहयोग, सद्भाव र सहअस्तित्वको भावना विकास गर्नुका साथै भावी पुस्तालाई धार्मिक तथा आध्यात्मिक मार्गमा अग्रसर गराउने लक्ष्य लिइएको छ। सामाजिक एकता मजबुत बनाउँदै समाजमा सकारात्मक ऊर्जा फैलाउने विश्वाससहित आयोजना गरिएको यो महायज्ञले समग्र क्षेत्रको धार्मिक तथा सांस्कृतिक जीवनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

