काठमाडौं ,२५ पुस नेपाली फिल्म क्षेत्रमा सशक्त अभिनयमार्फत अलग पहिचान बनाएका अभिनेता प्रमोद अग्रहरी अब अन्तर्राष्ट्रिय पर्दामा देखिने भएका छन्। उनको बहुप्रतिक्षित बंगलादेशी डेब्यु फिल्म ‘शार्क’ (बंगाली नाम ‘हाङ्गोर’) को दमदार टिजर सार्वजनिक भएसँगै उनको चर्चा चुलिएको छ। सार्वजनिक एक मिनेट लामो टिजरमा प्रमोदलाई अत्यन्त शक्तिशाली र प्रभावशाली भूमिकामा प्रस्तुत गरिएको छ। समुन्द्रको बीचमा गुण्डाहरूसँग भिडिरहेको उनको खतरनाक एक्सन अवतारले दर्शकको ध्यान तानेको छ। टिजरमा शार्क माछालाई बिम्बका रूपमा प्रयोग गरिएको छ, जसले कथाको गहिराइ र प्रतीकात्मकता झल्काउँछ। रोचक पक्ष के छ भने, टिजरसँगै सार्वजनिक गरिएको फिल्मको पोस्टरमा कलाकारहरूको सूचीमा प्रमोदको नाम पहिलो नम्बरमा राखिएको छ। यसले फिल्ममा उनको भूमिका कति केन्द्रीय र महत्वपूर्ण छ भन्ने स्पष्ट संकेत गर्दछ। नेपाली फिल्ममा सकारात्मक र नकारात्मक दुवै चरित्रमा खरो उत्रिँदै आएका प्रमोदको पछिल्लो समयको एक्सन भूमिकाले नै उनलाई यो अन्तर्राष्ट्रिय प्रोजेक्टसम्म पुर्याएको हो। ‘पिताम्बर’, ‘रावायण’ र ‘अगस्त्य: च्याप्टर–१’ मा देखिएको उनको अभिनयबाट प्रभावित भएर बंगलादेशी निर्देशक ट्यानमोइ सुर्योले उनलाई फिल्ममा अफर गरेका थिए। गाजी हिमोको निर्माण रहेको यस फिल्मको छायांकन गत अक्टोबरमा बंगलादेशको ढाकामा सम्पन्न भएको हो। छायांकनका क्रममा निर्माता, प्राविधिक तथा स्थानीयबाट पाएको माया र हौसलालाई प्रमोदले आफ्नो लागि अमूल्य अनुभवका रूपमा लिएका छन्। छायांकनकै क्रममा अन्य बंगाली फिल्मको प्रस्ताव आए पनि उनले ‘शार्क’ प्रदर्शनपछि मात्र नयाँ प्रोजेक्टबारे सोच्ने बताएका छन्। आगामी दिनमा नेपाली र बंगाली दुवै फिल्म उद्योगमा निरन्तर काम गर्ने योजना रहेको उनले बताएका छन्। सन् २०२६ को इदमा रिलिज हुने तयारीमा रहेको ‘शार्क’को टिजर सार्वजनिक भएसँगै नेपाली दर्शकहरूले नेपालमा पनि प्रदर्शनको माग गरेका छन्। यसप्रति प्रतिक्रिया दिँदै प्रमोदले आफ्ना प्रिय दर्शकलाई निराश नबनाउने र नेपालमा पनि फिल्म प्रदर्शन हुने स्पष्ट आश्वासन दिएका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।