राष्ट्रिय दैनिक / नवलपरासी ,१७ पुस नवलपरासीको बर्दघाट नगरपालिका–१२ भटौलियास्थित कजरिया रमेश टायल्स उद्योगमा कार्यरत दुई जना मजदुरको मृत्यु भएपछि क्षेत्र तनावग्रस्त बनेको छ। उद्योगको लापरबाहीका कारण मजदुरको ज्यान गएको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीयले उद्योग घेराउ गरेका छन्। घटनाको निष्पक्ष छानबिनको माग गर्दै उनीहरूले केही समय शव उठाउन समेत दिएका थिएनन्। प्रहरीका अनुसार गएराति उद्योगमा काम सकेर कोठामा सुतेका एक जना नेपाली र एक जना भारतीय मजदुरको मृत्यु भएको हो। मृत्यु हुनेमा बर्दघाट नगरपालिका–१३ धनेवाका ३० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला, ग्राम पोस्ट–६ का ४० वर्षीय विनोदकुमार रहेका छन्। स्थानीयवासीले उद्योगभित्र ग्यास लिक हुँदा निसासिएर मजदुरको मृत्यु भएको आरोप लगाएका छन्। स्थानीयका अनुसार उद्योगमा जाम भएको ग्यास खोल्न मजदुरलाई पठाइयो र त्यसक्रममा निसासिएर मृत्यु भएपछि घटना ढाकछोप गर्न नजिकैको कोठामा लगेर सुताइएको थियो। अन्य मजदुरको भनाइ उद्धृत गर्दै स्थानीयले उद्योग व्यवस्थापनको गम्भीर लापरबाही रहेको दाबी गरेका छन्। उद्योग पक्षका अनुसार मृतक दुवै जना ग्यासी फायर (अग्नि नियन्त्रण) प्लान्ट मा कार्यरत मजदुर थिए। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) का प्रमुख एसपी अनुपम श्रेष्ठका अनुसार उनीहरू उद्योगको ग्यासी फायर पोकिङ फ्लोरमा एउटै स्थानमा गत्ता ओछ्याएर सुतेको अवस्थामा मृत फेला परेका हुन्। उद्योगबाट जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको उहाँले जानकारी दिनुभयो। यता उद्योगका जनसम्पर्क वरिष्ठ प्रबन्धक रमेश न्यौपाने ले ग्यास लिक नभई अक्सिजनको कमीका कारण मृत्यु भएको हुन सक्ने दाबी गर्नुभएको छ। “हिजो नयाँ वर्ष मनाएका हुन सक्छन्। कोठामा सुतेपछि अक्सिजन कम भएर यस्तो घटना भएको हुन सक्छ,” उहाँले बताउनुभयो। घटनाको वास्तविकता पत्ता लगाउन दुवै जनाको शव प्रादेशिक अस्पताल बुटवल पठाउने तयारी गरिएको थियो। तर उद्योगको लापरबाहीकै कारण घटना भएको भन्दै आक्रोशित स्थानीय र आफन्तले अवरोध गरेपछि तत्काल शव पठाउन नसकिएको प्रहरीले जनाएको थियो। प्रहरीका अनुसार सत्य–तथ्य पत्ता लगाउन पोस्टमार्टम अनिवार्य भएकाले शव परीक्षण गर्न दिन आग्रह गरिएको थियो। स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, उद्योग व्यवस्थापन र मृतकका आफन्तहरूबीच भएको छलफलपछि उद्योग बन्द गरेर घटनाको अनुसन्धान अगाडि बढाउने सहमति भएको छ। उक्त सहमतिपछि कजरिया टायल्स उद्योगमा मृत्यु भएका दुई मजदुरको शव थप परीक्षण (पोस्टमार्टम) का लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। घटनाको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने प्रहरीको भनाइ छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।