Rashtriya Dainik

भूमिहीनलाई जग्गाधनी पूर्जा दिन प्रक्रिया सुरु

१६ फागुन, चितवन । चितवनका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । ३७ हजारभन्दा बढी भूमिहीनलाई जग्गाधनी पूर्जा दिने गरी काम अघि बढाइएको हो ।

चितवनका सातवटै पालिकाले आफ्नो क्षेत्रभित्र रहेका भूमिहीन तथा सकुम्बासीको लगत संकलन गर्ने काम सुरु गरेका छन् । वडा तहबाटै काम सुरु भएको बताइएको छ ।
भरतपुर महानगरपालिकाले अहिले भूमिहीनको लगत लिने काम गरिरहेको छ । महानगरपालिकामा १५ हजार ७ सय भूमिहीन तथा सुकुम्बासी छन् ।

भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया सुरु भइसकेको महानगर प्रमुख रेणू दाहालले बताइन् । प्रमुख राजनीतिक दलसँग समन्वय गरेर नगरस्तरीय र वडास्तरीय सहजीकरण समिति बनाएर महानगरपालिकाले काम अघि बढाएको उनको भनाइ छ । महानगरले १५ कर्मचारी नियुक्त गरेर काम अघि बढाएको हो ।

यस्तै रत्ननगर नगरपालिकामा ६ महिनाभित्रै भूमिहीनलाई जग्गाधनी पूर्जा दिने गरी काम सुरु भएको भूमिहीन तथा सुकुम्बासी लगत संकलन समितिका संयोजक अर्जुन पङ्गेनीले बताए । उनले वडावाट प्रमाणित गराएर नापनक्सा निकाल्ने काम गरिरहेको बताए । रत्ननगरमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका परिवारको संख्या दुई हजार ४५० रहेको नगरपालिकाले जनाएको छ ।

यसैगरी चितवनका माडी, कालिका र खैरहनी नगरपालिकामा पनि भूमिहीनको तथ्यांक संकलन गरी जग्गाधनी पूर्जाको प्रक्रिया अगाडि बढाइएको छ । इच्छाकामना गाउँपालिकामा पनि भूमिहीन तथा सुकुम्बासीको लगत संकलन गरी भूमिहीन सुकुम्बासी समस्या समाधान आयोगमा सिफारिस गर्ने तयारीमा रहेको अध्यक्ष गीता गुरुङले जानकारी दिइन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित