नवलपरासी,१७ पुस पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको सामुदायिक अस्पतालमा डायलासिस सेवा सुरु गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘मृगौला पीडित बचाउ महाअभियान’ दिनप्रतिदिन सार्थक बन्दै गएको छ। घर आगनमै सेवा दिने उदेश्यले प्रारम्भ गरिएको यस अभियानले विभिन्न संघ–संस्था, सामाजिक अभियन्ता तथा सहयोगी हातहरूको अतुलनीय साथ पाउँदै उल्लेखनीय गति लिएको छ।वडा नम्बर १४ स्थित सहिद स्मृति सामुदायिक अस्पतालमा यो सेवा प्रारम्भ गर्न लागिएको छ । हाल बर्दघाट नगरपालिकाबाट करिब ५२ जना मृगौला पीडित डायलासिस सेवाका लागि बुटवल र भैरहवासम्म धाउन बाध्य छन्। लामो दूरी, पालो कुर्नुपर्ने बाध्यता, अत्यधिक आर्थिक भार तथा मानसिक तनावले उनीहरूको जीवन थप पीडादायी बन्दै आएको अवस्थामा नगर प्रमुख शम्भुलाल श्रेष्ठले स्थानीयस्तरमै डायलासिस सेवा सुरु गर्ने दृढ अठोट व्यक्त गर्नुभएको छ। नगर प्रमुख श्रेष्ठले मृगौला पीडितहरूलाई बाहिर जानुपर्ने बाध्यताबाट मुक्त गराई घरआँगनमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै ‘मृगौला पीडित बचाउ अभियान’को थालनी गर्नुभएको हो। यो अभियान बाट झन्डै ७० लाख रकम सङ्कलन भएको छ भने सेवा सुचारुका लागि आवश्यक पुर्वाधार तयार सगै नितिगत निर्णयका काम हरु भैरहेको छ । यो अभियान केवल स्वास्थ्य सेवाको विस्तार मात्र नभई, नगरबासीको जीवन रक्षा र सामाजिक न्यायको महत्वपूर्ण कदम मानिएको छ । यस अभियानमा विभिन्न संघ–संस्था, व्यवसायी, सामाजिक अभियन्ता तथा सर्वसाधारणले खुलेर सहयोग गरिरहेका छन्। सामूहिक प्रयास र ऐक्यबद्धताका कारण अभियानले थप ऊर्जा पाएको छ। नगर प्रमुख श्रेष्ठले स्वास्थ्य सेवालाई अझ गुणस्तरीय, विश्वसनीय र सर्वसुलभ बनाउने दिशामा डायलासिस सेवा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभएको छ। स्थानीय तहमै यस्तो सेवा सुरु हुनु इतिहासले स्मरण गर्ने महत्वपूर्ण काम हुने भन्दै उहाँले सबैलाई सहकार्यका लागि आह्वान समेत गर्नुभएको छ। सामुदायिक अस्पतालमा डायलासिस सेवा सुरु भएसँगै मृगौला पीडितहरूलाई राहत मिल्ने मात्र होइन, बर्दघाट नगरपालिकाको स्वास्थ्य सेवा प्रणाली थप सबल र भरोसायोग्य बन्ने अपेक्षा गरिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।