राष्ट्रिय दैनिक / नवलपरासी, १५ पुस पश्चिम नवलपरासीको सुस्तामा रहेको नेपालकै लामो झुलुङ्गे पुल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख गन्तव्य बन्दै गएको छ। तर पर्यटकको आकर्षण बढेसँगै यहाँको सुरक्षा अवस्था कमजोर बन्दै गएको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। नेपाल–भारत सीमावर्ती क्षेत्र भएकाले भारतका उत्तर प्रदेश र बिहारलगायतका स्थानबाट आउने पर्यटकहरूको आवतजावत बढ्दो छ। स्थानीयका अनुसार केही भारतीय युवाहरू मदिरा सेवन गरेर पुल क्षेत्रमा आउने, हतियार जस्तो देखिने सामग्री बोकेर भिडियो बनाउने तथा सामाजिक सञ्जालमा पोस्ट गर्ने गतिविधि बढ्दै गएको छ, जसले स्थानीयमा त्रास फैलाएको छ। केही समयअघि मदिराले मात्तिएका एक युवकले भारतबाट आएकी महिलामाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पनि त्यसपछि सुरक्षा व्यवस्थापनमा अपेक्षित सुधार नआएको स्थानीयको गुनासो छ। “यस्ता घटना दोहोरिन नदिन तत्काल सुरक्षा पोस्ट राखिनुपर्ने थियो, तर अवस्था उस्तै छ,” एक स्थानीयले बताए। स्थानीय बासिन्दाका अनुसार पुल आसपास न त नियमित सुरक्षा गस्ती हुन्छ, न त स्थायी सुरक्षा चौकी नै छ। यसले चोरी, झैझगडा, महिलामाथि दुर्व्यवहार तथा सीमा सुरक्षासम्बन्धी गम्भीर घटना हुनसक्ने जोखिम बढाएको उनीहरूको भनाइ छ। विशेषगरी शनिबार र सार्वजनिक बिदाका दिनमा पर्यटकको भीड बढ्दा जोखिम अझ उच्च हुने स्थानीयको भनाइ छ। नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहलाई पटक–पटक सुरक्षा व्यवस्थापन सुदृढ गर्न आग्रह गरिएको भए पनि हालसम्म प्रभावकारी कदम नचालिएको स्थानीयको आरोप छ। उनीहरूले कम्तीमा पुल क्षेत्रमा अस्थायी प्रहरी बिट स्थापना, नियमित गस्ती तथा सिसिटिभी क्यामेरा जडान गर्न माग गरेका छन्। स्थानीयवासीका अनुसार समयमै सुरक्षा प्रबन्ध कडा नगरिए सुस्ता क्षेत्रको पर्यटन छवि बिग्रिनुका साथै राष्ट्रिय सुरक्षा र सीमा व्यवस्थापनमा समेत असर पर्न सक्ने खतरा छ। त्यसैले पर्यटकको सुरक्षासँगै सीमा सुरक्षालाई ध्यानमा राख्दै सम्बन्धित निकायले तत्काल ध्यान दिनु आवश्यक रहेको उनीहरूको जोड छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।