Rashtriya Dainik

गङ्गाबस्तीका युवाहरूको माग बेवास्ता: पोखरी पुरेर खेलमैदान बनाउने पहल वर्षौँदेखि ठप्प

राष्ट्रिय दैनिक / नवलपरासी ,२९ कार्तिक

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ गङ्गाबस्तीका युवाहरूले पोखरी पुरेर खेलमैदान निर्माण गर्न पटक–पटक माग उठाउँदै आए पनि सम्बन्धित निकायले वर्षौँदेखि कुनै चासो नदेखाएको गुनासो बढ्दै गएको छ। गङ्गा माध्यमिक विद्यालयको जग्गामा रहेको उक्त पोखरी न त प्रयोगमै आउन सकेको छ, न त त्यसलाई पुरेर विद्यालय र स्थानीय युवाका लागि खेलमैदान निर्माण गर्ने माग पूरा हुन सकेको छ।

विद्यालयले समेत विद्यार्थीहरूका लागि खेलमैदानको अभाव रहेको भन्दै पटक–पटक नगरपालिकामा बजेट माग गरे पनि प्राथमिकतामा नपरेको विद्यालय व्यवस्थापन समितीका पूर्वअध्यक्ष सोभाकर भुसाल बताउँछन्। प्रधानाध्यापक भुपेन्द्र रिजालका अनुसार खेलक्रियाका लागि अत्यावश्यक पूर्वाधार नहुँदा विद्यार्थीहरू असहज हुँदै आएका छन्।

“पोखरी पुरिदिए खेलमैदान बन्छ, तर कसैको ध्यान पुगेको छैन” — स्थानीय खेलाडी

गङ्गाबस्तीका स्थानीय खेलाडी राजन कुँवर भन्छन्,
“हामीले वर्षौँदेखि भनेका छौँ— यो पोखरी पुरेर राम्रो खेलमैदान बनाइदिनुपर्छ। यहाँका युवामा खेलको उत्साह धेरै छ, र यहाँकै मैदानमा प्रतियोगिता पनि गर्न सकिन्थ्यो। तर हाम्रो कुरा कसैले सुन्ने वाला भएन।”

विदेशमा रहेका स्थानीय खेलप्रेमी राजु न्यौपानेले समेत पोखरी पुरेर खेलमैदान निर्माणमा जनप्रतिनिधिको इच्छाशक्ति नदेखिएको टिप्पणी गरे।
“सानो मैदानमा पनि युवाहरू खेल्दै आएको देख्दा खुसी लाग्छ। तर पोखरीको विषयमा कसैले जोडबल नदिनु दुःख लाग्छ,” उनले भने।

बजेट छुटे पनि अन्तिममा कटाइयो

आर्थिक वर्ष ०८२/८३ को बजेट प्रस्तावमा पोखरी पुरेर खेलमैदान निर्माणका लागि ५ लाख रुपैयाँ छुट्याइएको स्रोतले बताउँछ। तर अन्तिम संसोधनमा आन्तरिक विवाद र प्राथमिकतामा फेरबदलका कारण उक्त बजेट कटाइएपछि योजना नै अलपत्र परेको स्थानीय स्रोतको दाबी छ।

नगरपालिकाले ‘एक वडा, एक खेलमैदान’ को अवधारणा अघि सारे पनि गङ्गाबस्तीमा रहेको पोखरी पुरेर खेलमैदान निर्माण गर्ने युवाहरूको माग भने सम्बोधन हुन सकेको छैन।

खेलमैदान अभाव, जोखिम भने बढ्दो

पोखरीको छेउको सानो भागलाई मैदान झैँ प्रयोग गर्दै विद्यार्थी र युवाहरू दैनिक फुटबल खेल्दै आएका छन्। मैदान साँघुरो र असमान भएकाले खेलक्रियामा समस्या परिरहेको छ।
खुला अवस्थामा रहेको ठूलो पोखरी बालबालिका डुब्ने जोखिमका कारण स्थानीयहरू थप चिन्तित छन्।

यही अपुग मैदानमै केही महिना अघि स्थानीय युवा तथा खेलप्रेमीको सक्रियतामा पहिलो पटक रात्रिकालीन फुटबल प्रतियोगिता समेत आयोजना गरिएको थियो। उत्कृष्ट सहभागिता देखिए पनि मैदानको कमजोर संरचनाले खेलाडीहरूलाई निराश बनाएको थियो।

“वडा अध्यक्षलाई थाहा छ, तर पहल देखिएको छैन” — स्थानीय आरोप

युवाहरूका अनुसार समस्या वडा अध्यक्ष र नगर दुवैलाई थाहा छ तर व्यवहारिक पहल नदेखिएको आरोप उनीहरूको छ।
“नगरका अन्य वडाबाट पनि यस्ता माग आएका छन्। तर हाम्रो क्षेत्रमा निरन्तर माग उठाइरहँदा पनि बेवास्ता गरिँदै आएको छ,” स्थानीय युवाहरूको भनाइ छ।

विद्यालयले पटक–पटक नगरपालिका समक्ष पोखरी पुरिदिन माग गरे पनि सुनुवाइ हुन नसक्दा खेलमैदान अभाव र विकासका योजनामा गरिएको बेवास्ताले स्थानीय युवाहरू निरुत्साहित बनेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित