राष्ट्रिय दैनिक / नवलपरासी ,२९ कार्तिक पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नं. ३ मा शुक्रबार आयोजना गरिएको बाल सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सरावल गाउँपालिका वडा नं. ३ मा बाल अधिकार प्रवर्द्धन तथा स्थानीयस्तरमा बाल नेतृत्व संरचना संस्थागत गर्ने उद्देश्यसहित वडास्तरीय बाल सञ्जाल गठन तथा अभिमुखीकरण सम्पन्न भएको हाे। सरावल गाउँपालिकाद्वारा आयोजित कार्यक्रम बालमैत्री स्थानीय शासन प्रवर्द्धनतर्फको महत्वपूर्ण कदमका रूपमा रहेको सरोकारवालाले बताएका छन्। कार्यक्रममा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बालबालिकाको आवाजलाई योजनादेखि कार्यान्वयन तहसम्म प्रभावकारी रूपमा पुर्याउन बाल सञ्जाल महत्वपूर्ण संयन्त्र भएको उल्लेख गरे। “बालमैत्री पालिका निर्माण हाम्रो प्राथमिकता हो। बालपूर्वाधार, संरक्षण र सहभागितामूलक विकासका लागि बच्चाहरू स्वयं नेतृत्वमा आउनुपर्छ,” — अध्यक्ष चौधरीले भने। गाउँपालिका उपाध्यक्ष बासमती हरिजनले बाल सञ्जाललाई सक्षम, सक्रिय र उत्तरदायी संस्थाको रूपमा अघि बढाउन पालिकाको निरन्तर सहयोग रहने बताइन्। उनका अनुसार बालअधिकारमैत्री वातावरण विस्तार गर्न बालमैत्री कार्यक्रम, अनुगमन र क्षमता अभिवृद्धि प्रशिक्षणलाई अघि बढाइनेछ। नियमित कार्ययोजना, नेतृत्व विकास र बालहित सम्बन्धी अभियान सञ्चालन गर्ने उद्देश्यसहित दुई वर्ष कार्यकाल रहने गरी नयाँ समिति यसरी गठन गरिएको छ। जसको अध्यक्षमा सारदा पाण्डेय ,उपाध्यक्षमा आशुतोष यादव ,सचिवमा पूजा सहानी,सह–सचिवमा अनु बि.क र कोषाध्यक्षमा धनराज हरिजन चयन भएका हुन । सदस्यहरूमा विज्ञान हरिजन, दिलिप प्रजापति, प्रेम नारायण चौधरी, रोजी शाही, लालकृष्ण अग्रहरी, जेनिशा चौधरी, हरिकला चौधरी, सागर थारु, निशा हरिजन, कृतिका चौधरी, नागेश्वर हरिजन, सत्या प्रजापति, नागेन्द्र राजभर र मधु जयसवाल चयन भएका हुन । कार्यक्रममा सरावल उद्योग वाणिज्य संघका अध्यक्ष शुसान्त शर्मा घिमिरे, समाजसेवी हरिलाल यादव, पालिका बाल सहजकर्ता सञ्जय मौर्य, बालपुरी बाल क्लबकी अध्यक्ष अञ्जली रौनियारलगायत सहभागीहरूले बाल सञ्जाललाई नीति संवाद, अधिकार संरक्षण र व्यवहारिक नेतृत्व अभिवृद्धिको महत्वपूर्ण प्लेटफर्मका रूपमा उपयोग गर्न सुझाव दिए। सम्पूर्ण कार्यक्रमको सहजीकरण बाल अभियन्ता उमेश बी.कले गर्दै सहभागी बालबालिकालाई बाल अधिकार, नेतृत्व, बालमैत्री शासन,बाल सन्जालकाे काम कर्तव्य र सामाजिक उत्तरदायित्वसम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।