राष्ट्रिय दैनिक / नवलपरासी,२७ कार्तिक सूचना अधिकार र पारदर्शी प्रशासनिक अभ्यासलाई प्रभावकारी बनाउनका लागि सरावल गाउँपालिकाले सूचना अधिकारीहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता उपाध्यक्ष बासमती हरिजनले गर्नुभएको थियो। उहाँले कार्यक्रममा सम्बोधन गर्दै जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय तथा सूचना प्रवाहमा पारदर्शिता कायम गर्नु हालको प्रशासनिक व्यवस्थाको मुख्य आवश्यकता रहेको बताउनुभयो। कार्यक्रममा वडा नं. १ देखि ७ सम्मका वडा सचिवहरू तथा सामुदायिक विद्यालयका सूचना अधिकारीहरूको सक्रिय सहभागिता रहेको गाउँपालिकाका सूचना अधिकारी ईश्वरी खनालले जानकारी दिनुभयो। उहाँका अनुसार अभिमुखीकरणले स्थानीय तहमा सूचना अधिकार ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने छ। कार्यक्रमको सहजीकरण जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी पोषण राज भण्डारी र सरावल गाउँपालिकाका लेखा अधिकृत नारायण पाण्डेयले गर्नुभएको थियो। भण्डारीले सूचना प्रवाह नागरिकको मौलिक अधिकार भएको र स्थानीय तहका सूचना अधिकारीहरू त्यसको प्रभावकारी कार्यान्वयनका मुख्य संयन्त्र भएको उल्लेख गर्नुभयो। उहाँले सूचना माग, व्यवस्थापन र वितरणका कानूनी प्रावधानबारे सहभागीहरूलाई विस्तृत जानकारी दिनुभएको थियो। लेखा अधिकृत नारायण पाण्डेयले सूचना प्रणालीलाई वित्तीय पारदर्शिता र जवाफदेहितासँग जोड्न आवश्यक रहेको बताउँदै अभिमुखीकरणले गाउँपालिकाको सुशासन अभियानलाई थप गति दिने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको अन्त्यमा सहभागीहरूले स्थानीय तहमा सूचना अधिकार ऐन, २०६४ का प्रावधानहरू व्यवहारिक रूपमा लागू गर्न प्रतिबद्धता जनाएका थिए। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।