राष्ट्रिय दैनिक / नवलपरासी ,२४ कार्तिक पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ सरावलमा अवस्थित गाउँपालिका स्तरीय महिला सञ्जाल भवन निर्माण सम्पन्न भएको करिब दुई वर्ष बितिसक्दा पनि अहिलेसम्म प्रयोगमा नआएपछि स्थानीयहरूले कडा आलोचना गरेका छन्। २०७८ सालमा तत्कालीन अध्यक्ष राधेश्याम चौधरी र उपाध्यक्ष उत्तमा रायको पहलमा शिलान्यास गरिएको भवन वर्तमान अध्यक्ष सुखाडी प्रसाद चौधरी र उपाध्यक्ष बासमती हरिजनको कार्यकालमा निर्माण सम्पन्न भएको हो। करिब ५० लाख रुपैयाँ लागतमा बनेको भवन अहिले प्रयोगबिहीन र उपेक्षित अवस्थामा छ। महिला सञ्जाल निष्क्रिय बनेकाले भवनको उद्घाटन समेत हुन सकेको छैन। भवन आधुनिक र आकर्षक ढङ्गले बनेको भए पनि समयमै प्रयोग नहुँदा अहिले रंग खुइलिन थालेको, ढोका–झ्याल जीर्ण देखिन थालेको र वरिपरि फोहर जम्मा हुन थालेको छ। स्थानीयवासीहरू भन्छन् —“५० लाख खर्चेर बनेको भवन अहिले तास खेल्ने, धान सुकाउने र युवाहरू बस्ने स्थान बनेको छ। यसरी सार्वजनिक सम्पत्ति खेर जानु जनप्रतिनिधिको लापरबाही हो।” गाउँपालिकाका विभिन्न शाखा कार्यालयहरू सानो ठाउँमा साघुरिएर काम गर्न बाध्य भएका बेला यो भवन खाली रहनु नेतृत्वको कमजोरी भएको स्थानीयको आरोप छ। महिला सञ्जाल गठनको उद्देश्य महिलाको सशक्तिकरण र नीतिगत सहभागिता भए पनि अहिले सञ्जाल पूर्ण रूपमा निष्क्रिय छ, जसका कारण भवन उपयोगविहीन र बेवास्तामा परेको छ। स्थानीयहरूले गाउँपालिका नेतृत्वलाई भवनको सदुपयोग र संरक्षणमा तत्काल ध्यान दिन आग्रह गरेका छन्। उनीहरूका अनुसार भवनलाई प्रशिक्षण केन्द्र, बैठक हल वा शाखा कार्यालयका रूपमा सञ्चालन गर्न सकेमा सार्वजनिक सम्पत्तिको दुरुपयोग रोक्न सकिन्छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।