उमेश बि.क / नवलपरासी ,२४ कार्तिक पश्चिम नवलपरासीको सरावल गाउँपालिका–४ पुर्नहामा अवस्थित श्री बहिरी सम्मेमाई धार्मिक स्थल आस्था, विश्वास र धार्मिक सहअस्तित्वको प्रतीक बनेको छ। हराभरा र शान्त वातावरणले यस स्थानलाई प्राकृतिक सौन्दर्यको रूपमा पनि विशेष बनाएको छ। लगभग ८ बिगाहा क्षेत्रफलमा फैलिएको यो स्थलमा दैनिक दर्जनौँ भक्तजन आउने गर्छन्। स्थानीयको विश्वास अनुसार, यहाँ मागिएको भाकल अवश्य पूरा हुन्छ। बडसार निवासी भिखु केवट भन्छन्, “यहाँको शक्ति अद्भुत छ। भाकल माग्ने जो कोही यहाँ आशा लिएर आउँछन् र सन्तुष्टि लिएर फर्किन्छन्।” त्यस्तै विश्वनाथ केवट भन्छन्, “भाकल पूरा भएपछि भक्तजनले कुखुरा, बोका र परेवा चढाउने चलन छ। यो परम्परा पिँढी पिँढीबाट चल्दै आएको हो।” धार्मिक विविधताको बीचमा पनि यो क्षेत्रले साम्प्रदायिक एकताको सन्देश फैलाइरहेको छ। जहिर खाँ पठान, जो इस्लाम धर्मावलम्बी हुन्, भन्छन्, “म फरक धर्म मान्छु, तर यो हाम्रो साझा आस्थाको थलो हो। हामी सबै मिलेर यसको संरक्षण र विकासमा लाग्नुपर्छ।” यद्यपि स्थानीय र जनप्रतिनिधिको बेवास्ताका कारण यो पवित्र स्थल अझै उपेक्षाको छायाँमा परेको स्थानीयहरूको गुनासो छ। पूर्व वडाध्यक्ष छोटेलाल यादवका अनुसार आफ्नो कार्यकालमा खानेपानी धारा, ट्रस्ट निर्माण र केही संरचनागत काम भए पनि त्यसपछि विकास कार्य ठप्प भएको छ। स्थानीय बासिन्दाहरूले वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्। उनीहरू भन्छन् —“धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको यस्तो स्थलप्रति वर्तमान जनप्रतिनिधिले चासो नदेखाउनु दुःखद छ। योजना बनेर पनि कार्यान्वयन नहुनु जनताको विश्वासमाथिको अन्याय हो।” अब स्थानीयहरू र भक्तजनहरू श्री बहिरी सम्मेमाई धार्मिक स्थललाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न माग गरिरहेका छन्। यो स्थल केवल धार्मिक धरोहर होइन, यो एकताको प्रतीक र सम्भावनाको भूमि हो — जसले विकासका लागि जिम्मेवार निकायको ध्यान अझै पनि मागिरहेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।