काठमाडौं,२३ कार्तिक । नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियाप्रति असहमति जनाउँदै आएकी नेतृ रामकुमारी झाँक्री पुनः नेकपा (एमाले) फर्कने भएकी छन्। उनले भोलि (सोमबार) काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना हुने ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ कार्यक्रममा औपचारिक रूपमा पार्टी प्रवेश गर्ने तयारी गरेकी हुन्। एमालेले उक्त कार्यक्रम सोमबार दिउँसो साढे २ बजे आयोजना गर्ने बताइएको छ। झाँक्रीले सामाजिक सञ्जालमार्फत सबैलाई कार्यक्रममा सहभागी हुन आह्वान गर्दै भनिन् — “यो अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो। हामी सँगसँगै सबै जना कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो।” नेत्री झाँक्रीले आफ्नो राजनीतिक यात्रामा उतारचढाव रहँदै आएको उल्लेख गर्दै भनिन् —“मेरो राजनीतिक जीवनको उतारचढाव हो यो। तपाईंहरूप्रतिको मेरो उत्तरदायित्व सधैं रहनेछ।” गत निर्वाचनमा एमाले परित्याग गरी अलग भएर प्रतिस्पर्धा गरेकी झाँक्रीले जनताप्रति कृतज्ञता व्यक्त गर्दै थपिन् —“निर्वाचनका बेला तपाईंहरूले दिएको सद्भाव र सहयोग सधैं मस्तिष्कमा रहनेछ।”उनले माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असहमति जनाउँदै पार्टीले लिएका केही निर्णयप्रति असन्तुष्टि प्रकट गरेकी थिइन्। “मैले केही निर्णय लिँदैछु, यसलाई सामान्य रूपमा लिनुहोला,” उनले लेखेकी छिन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।