राष्ट्रिय दैनिक / नवलपरासी ,१९ कार्तिक पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ घ्यूडल्लामा एक पुरुषले आफ्नी श्रीमतीको खुर्पा प्रहार गरी हत्या गरेका छन्। प्रहरीले हत्याको आरोपमा ६२ वर्षीय खडकबहादुर थापालाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी विरदत्त पन्तका अनुसार मंगलबार बिहान सामान्य मनमुटावका कारण थापाले आफ्नी ५५ वर्षीया श्रीमती भिमकला थापामाथि खुर्पा (हसिया) प्रहार गरेका हुन्। डिएसपी पन्तले जानकारी दिनुभयो, “श्रीमती छिमेकीको घरमा तरकारी बनाउनका लागि टमाटर लिन गएकी थिइन्। फर्किने क्रममा थापाले घरअगाडि नै खुर्पा प्रहार गरेका रहेछन्।” खुर्पा प्रहारबाट गर्धन, ढाँड र खुट्टामा गम्भीर चोट लागेकी भिमकलालाई उपचारका लागि बुटवल सिटी अस्पताल पठाइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। बाग्लुङ घर भएका थापा करिब ३४ वर्ष भारतमा मजदुरी गरेर तीन वर्षअघि नेपाल फर्किएका हुन्। उनी हाल घ्यूडल्लामा स्थायी रूपमा बसोबास गर्दै आएका थिए। थापाका दुई श्रीमतीबाट ६ सन्तान छन्। हत्या भएकी भिमकला कान्छी श्रीमती हुन्। कान्छीतर्फ दुई छोरा र दुई छोरी छन्। दुवै छोरा विदेशमा छन् भने एक छोरी विवाहित र अर्की घरमै छन्। जेठी श्रीमती लामो समयदेखि सम्पर्कमा नरहेको बताइएको छ। प्रहरीका अनुसार थापाले श्रीमतीमाथि शंकाको दृष्टिले हेर्ने गरेका थिए र अघिल्लो दिन पनि उनीहरूबीच मनमुटाव भएको थियो। “हत्या किन र कसरी भयो भन्ने विस्तृत अनुसन्धान भइरहेको छ,” डिएसपी पन्तले बताउनुभयो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।