राष्ट्रिय दैनिक /नवलपरासी ,१३ कार्तिक । स्वास्थ्य कार्यालय नवलपरासी (ब.सु.प.) ले प्रकाशित गरेको वार्षिक मूल्यांकन अनुसार सरावल गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभरका पालिकामध्ये स्वास्थ्य सेवा सूचकमा पहिलो स्थान हासिल गरेको छ। स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयन, मातृशिशु स्वास्थ्य सुधार, खोप अभियानको सफल सञ्चालन, पोषण तथा सरसफाइमा जनचेतना वृद्धि लगायतका सूचकका आधारमा सरावल गाउँपालिका अग्रस्थानमा आएको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालय नवलपरासीद्वारा भुमहीमा बुधबारदेखि आ.ब.२०८१/०८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुकाे जिल्लास्तरीय वार्षिक समिक्षा तथा याेजना तर्जुमा गाेष्ठी कार्यक्रममा स्वास्थ्य सेवा सूचकमा पहिलो स्थान लागि स्वास्थ्य कार्यालयले सरावल गाउँपालिकालाई प्रमाण–पत्र प्रदान गरेको छ। समारोहमा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव र स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाही उपस्थित थिए। जिल्ला समन्वय समितिका प्रमुख यादवले पालिकाको सफलतालाई “स्थानीय नेतृत्व, स्वास्थ्यकर्मीको प्रतिबद्धता र समुदायको सहकार्यको उत्कृष्ट उदाहरण” भन्दै सराहना गरेका छन्। स्वास्थ्य कार्यालय प्रमुख शाहीका अनुसार सरावल गाउँपालिकाले विगत वर्षदेखि समुदायमुखी योजना, नियमित स्वास्थ्य निगरानी र सूचकअनुसारको अनुगमन प्रणालीलाई प्राथमिकतामा राख्दै आएको छ। यस उपलब्धिप्रति गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले हार्दिक बधाई व्यक्त गर्दै भने “यो उपलब्धि निरन्तर मेहनत गर्दै जनताको सेवामा समर्पित सबै स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको सामूहिक प्रतिबद्धताको नतिजा हो।” उनले आगामी दिनमा पनि सरावल गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा नयाँ उदाहरण स्थापित गर्दै जनसेवामा अझ सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।