Rashtriya Dainik

घुससहित पक्राउ परेका दैलेखका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं,१३ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका दैलेखका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार जिल्ला दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत सातौँ तहका वरिष्ठ लेखा अधिकृत कार्कीले सडक स्तरोन्नति तथा निर्माण योजना सम्पन्न भएपछि अन्तिम बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग रु. १ लाख घुस मागी लिएको अवस्थामा पक्राउ परेका थिए।

टंगालस्थित अख्तियार मुख्यालय र सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

आयोगको अनुसन्धानबाट कार्कीले डुङ्गेश्वर गाउँपालिकाका वडा नं. १, २, ३, ४ र ५ मा पर्ने जर्सीचोक–देउली–जडी सडक स्तरोन्नति योजना को अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गर्ने बहानामा घुस मागी लिएको प्रमाणित भएको जनाएको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सोही प्रमाणका आधारमा कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर कायम गरी बिगो रकम रु. १ लाख र सो बराबरको जरिवाना तथा कैद सजायको मागसहित आरोपपत्र दायर गरिएको हो।

अख्तियारले पछिल्लो समय सरकारी निकायका कर्मचारीहरूद्वारा सेवाग्राहीसँग हुने घुस माग्ने प्रवृत्तिमाथि कडाइका साथ कारबाही अघि बढाउँदै आएको जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित