राष्ट्रिय दैनिक /नवलपरासी ,१२ कार्तिक पश्चिम नवलपरासीको सरावल गाउँपालिका–७ भुजहवामा नवनिर्मित वडा कार्यालय भवनको बुधवार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। वडा अध्यक्ष हेयात खाँ धुनियाको अध्यक्षता तथा पूर्वमन्त्री एवं जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री त्रिपाठीले देशमा विद्यमान भ्रष्टाचार र राजनीतिक अस्थिरतामाथि कडा आलोचना गरे। उहाँले भदौ २३ र २४ गते युवाहरूले गरेको आन्दोलन तत्कालीन सरकारको भ्रष्टाचारविरुद्ध भएको बताउँदै भने “यो देशमा अझै पनि तीन सय वर्षदेखि निरङ्कुश शासनको छाया कायम छ, राज्य केही समुदाय विशेषको कब्जामा छ।”त्रिपाठीले हाल उठाइएका संसद पुनःस्थापनाका मागहरू असंगत र राजनीतिक रूपमा अनुचित भएको टिप्पणी गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिको व्यवस्था संविधान निर्माणको समयमा नै हुनुपर्ने चर्चा भए पनि त्यसबेला सम्भव नबनेको स्मरण गरे। वडा नम्बर ७ को नयाँ कार्यालय भवन करिब १ करोड ५७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। भवन निर्माण कार्य के.ए.टी. इन्जिनियरिङ कन्ट्रक्सन, सरावल–२ मनरीले १४ महिनाभित्र सम्पन्न गरेको थियोे । बुधबारबाट नयाँ भवनबाट सेवा सुचारु भइसकेको वडा अध्यक्ष धुनियाले जानकारी दिनुभयो । यसअघि हाल वडा नं. ६ मा पर्ने साविक भुजहवा गाविसको जीर्ण भवनबाट उक्त वडाको सेवा प्रवाह हुँदै आएको थियो । कार्यक्रममा वडा नं. ६ का अध्यक्ष छोटेलाल गुप्ता, वडा नं. ४ का अध्यक्ष सुरेश यादव, उद्योग विभागका शाखा अधिकृत विशाल मिश्रा, जनता प्रगतिशील पार्टीका जिल्ला अध्यक्ष राधेरमण पाण्डेय, पत्रकार नन्दु यादव, देशबन्धु यादव, समाजसेवी ओमप्रकाश हरिजन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा मोहन चौधरीले स्वागत मन्तव्य दिएका थिए भने सरावल गाउँपालिका लेखापाल नरेश कोहारले कार्यक्रम सञ्चालन गरेका थिए। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।