आरपि उपनध्याय /नवलपुर ,३ कार्तिक गजेन्द्र मोक्ष दिव्य धाम त्रिवेणी नवलपुरको आयोजनामा गजेन्द्र मोक्ष मुक्तिनाथ रथ यात्रा कार्यक्रम सोमबार साँझ दिपावली पुजापाठ सहित सम्पन्न भएको छ। विश्व शान्ति, राष्ट्र कल्याण र सनातन धर्म तथा संस्कृतिको संरक्षण–संवर्द्धन गर्ने महान उद्देश्यसहित सुरु गरिएको रथ यात्राको समापन श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको हो। श्रद्धेय स्वामी मुक्तिनाथ बाबाको सत् संकल्पमा देवधाम श्री मुक्तिनाथ धाममा चैत्र शुक्ल नवमीदेखि विजयादशमीसम्म आयोजित महायज्ञको विसर्जनपछि, श्री भूमिलासहित गजेन्द्र मोक्ष भगवानको रथ यात्रा मुक्तिनाथ धामबाट प्रारम्भ भएको थियो। रथ यात्राले मुस्ताङ, पर्वत, स्याङ्जा, तनहुँ, कास्की, चितवन, पाल्पा, रुपन्देही, नवलपरासी हुँदै सम्पूर्ण गण्डकी तटीय भूभागका श्रद्धालुका घर–घरमा भगवानको प्रसाद र आशीर्वाद पुर्याएको उत्तराधिकारी स्वामी कृष्ण प्रपन्नाचार्यले जानकारी दिनुभयो। कार्यक्रमअनुसार सोमबार रुपन्देहीको भैरहवाबाट निस्केको रथ यात्रा परासीस्थित लक्ष्मीनारायण मन्दिरमा अभिषेक गरी परासी तर्फ प्रस्थान गरेको थियो। त्यस क्रममा पटखौली, जहदा र गोपिगञ्जमा जल–अभिषेक र तिलक प्रसाद वितरण गरिएको थियो। यात्रा बेलाटारी, कुडिया र महलबारीमा पनि तिलक प्रसाद वितरण गर्दै अगाडि बढेको थियो। विनयी त्रिवेणी–७ रानीनगरमा रथ आइपुग्दा ठूलो संख्यामा श्रद्धालु भक्तजनहरूले स्वागत र अभिनन्दन गरेका थिए। उक्त अवसरमा धार्मिक व्यक्तित्व, विभिन्न संघ–संस्थाका प्रतिनिधि, व्यापारी, उद्योगी तथा सुरक्षाकर्मीहरूको समेत सहभागिता रहेको धार्मिक व्यक्तित्व दिपक कुवरले जानकारी दिनुभयो। रथ यात्रा शिवपुरगढी हुँदै त्रिवेणी धाम परिक्रमा गरी साँझ गजेन्द्र मोक्ष दिव्य धाममा पूजापाठ र दिपावली समारोहका साथ सम्पन्न भएको स्वामी प्रपन्नाचार्यले बताउनुभयो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।