बारा: नेपाल पत्रकार महासंघ, बारा शाखाले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख (प्रहरी प्रमुख) श्रीमान सन्तोष तामाङका पछिल्ला क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अविलम्ब सच्याउन माग गरेको छ। महासंघको बारा शाखाले मिति २०८२/०७/०२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत सम्बन्धित निकायहरूमा ज्ञापनपत्र पठाएको छ। महासंघले विज्ञप्तिमा प्रहरी प्रमुख तामाङका गतिविधिले जिल्लामा कार्यरत क्रियाशील पत्रकारहरूको मनोबल गिराउने काम गरेको र पत्रकारका नेता तथा नागरिक समाजका अगुवाहरूलाई अनावश्यक निगरानीमा राख्ने र प्रताडित गर्ने गरेको सूचना प्राप्त भएको उल्लेख गरेको छ। विज्ञप्तिमा प्रहरी प्रमुख तामाङमाथि शान्ति सुव्यवस्था कायम गर्नुभन्दा अवैध धन आर्जन गरेको भन्ने प्रशस्त सूचनाहरू सार्वजनिक भएको र यस्ता विषयमा प्रश्न गर्ने तथा समाचार लेख्ने पत्रकारमाथि दुश्मनी साँध्ने खालको व्यवहार गर्न थालेपछि जिल्लाको शान्ति र सुव्यवस्था उहाँकै कारण बिग्रिने खतरा बढेको दाबी गरिएको छ। विशेष गरी नेपाल पत्रकार महासंघ, बाराका अध्यक्ष श्री रमेश सुवेदीले लेख्नुभएको समाचारलाई लिएर अध्यक्ष सुवेदीलाई निगरानीमा राखी मानसिक प्रताडना दिइएको घटनाले सम्पूर्ण सञ्चारकर्मी दुःखी भएको महासंघले जनाएको छ। एकजना पत्रकारले दिएको सामान्य जाहेरीलाई आधार बनाई प्रहरी प्रमुख तामाङले अध्यक्ष सुवेदीलाई दुई दिनसम्म मानसिक प्रताडना दिएको र जाहेरीकर्ता भन्दा एक कदम अगाडि बढेर जाहेरीकर्ताकै पक्षमा वकालत गर्नुभएको आरोप लगाइएको छ। सोही कारण ७० औं प्रहरी दिवस विशेष कार्यक्रममा समेत पत्रकारहरूले अनुपस्थित भई सांकेतिक विरोध जनाएका थिए। महासंघले सतहमा सामाजिक सञ्जालमा गालीगलौज गरिएको विषय भनिए पनि दशैंको दुई दिनअगाडि प्रहरी प्रमुख तामाङको ‘तस्करसँगको मिलिभगतका विषयमा अध्यक्ष सुवेदी, उपाध्यक्ष पन्नालाल दासले लेख्नुभएको समाचारको बदला लिन उहाँ उद्दत भएको स्पष्ट’ देखिएको दाबी गरेको छ। पत्रकारिताको मर्यादालाई कायम राख्दै पत्रकारहरूको सुरक्षा र निर्भीक पत्रकारिता गर्ने वातावरणको सुनिश्चितताका लागि पहलकदमी लिइदिन सम्बन्धित सबै निकायमा विनम्र अनुरोध गर्दै ज्ञापनपत्रमा प्रहरी प्रमुखको दम्भपूर्ण व्यवहारप्रति सम्पूर्ण सञ्चारकर्मीहरूले आपत्ति जनाएको उल्लेख छ। महासंघका सचिव पुष्पराज खतिवडाले हस्ताक्षर गरेको उक्त विज्ञप्ति प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा बोधार्थका लागि पठाइएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।