राष्ट्रिय दैनिक /नवलपरासी,२ कार्तिक दिपावली, नेपाल सम्बत् ११४६ र छठ पर्वको अवसरमा जिल्ला प्रशासन कार्यालय नवलपरासी (ब.सु.प.) ले सम्पूर्ण जिल्लावासीमा हार्दिक शुभकामना व्यक्त गर्दै चाडपर्वलाई शान्त, सभ्य र मर्यादित ढङ्गले मनाउन आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीद्वारा जारी सूचनामा जनाइएको छ कि चाडपर्व मनाउने क्रममा शान्ति सुरक्षा, सार्वजनिक मर्यादा र सामाजिक सौहार्दमा खलल पर्ने कुनै पनि कार्य गर्न नहुनेछ। प्रशासनले विशेष गरी मादक पदार्थ सेवन, होहल्ला, झगडा, जुवा–तास, लङगुरबुर्जा, भुईचम्पा, पटका र आतिसबाजी जस्ता विस्फोटक पदार्थको प्रयोग, बिक्री वितरण तथा ओसारपसार नगर्न अनुरोध गरेको छ। यस्ता गतिविधि गर्नेलाई कानून बमोजिम कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ। त्यस्तै प्रशासनले अखाद्य रंग मिसाइएका मिठाई, अस्वस्थ र गुणस्तरहीन खाद्य वस्तुहरूको बिक्री वितरण तथा उपभोग नगर्न आग्रह गरेको छ। सूचनामा भनिएको छ — “चाडपर्वको उल्लासमा स्वास्थ्य, सुरक्षामा जोखिम ल्याउने कार्य नगर्नुहोस्, हर्षोल्लासलाई मर्यादित र अनुशासित ढङ्गले मनाऔं।” दिपावलीको बेला दियो, मैनबत्ती वा विद्युतीय उपकरण प्रयोग गर्दा सम्भावित आगलागीबाट जोगिन सावधानी अपनाउन सबैलाई ध्यानाकर्षण गरिएको छ। त्यस्तै देउसी–भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरू बेलुकी ९:०० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरिएको छ। जिल्ला प्रशासनले अन्त्यमा सबै नागरिकलाई शुभकामना दिंदै भनेको छ — “सबै नागरिकबीच आपसी सद्भाव, एकता र शान्तिको वातावरणमा चाडपर्व मनाऔं — यही सन्देश प्रशासनको हो।” राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।